दाङको घोराहीमा एउटा भैंसी भागेपछि पाँच दिनसम्म समाजमा आतंक सिर्जना भयो।
सो भैंसी बध गर्न लगिएको बधशालाबाट भागेको थियो। बिच्किएको भैंसीले जसलाई भेट्यो, उसलाई आक्रमण गरेको थियो।
सो भैंसीको आक्रमणबाट चार जना मानिस घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले बताए।
भैंसीले सिर्जना गरेको आतंकपछि प्रहरीलाई नियन्त्रणमा लिन आग्रह गरिएको थियो।
प्रहरी प्रमुख श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयबाट दुई दर्जनजतिको संख्यामा खटिएको प्रहरी टोलीले आइतबार बेलुकीपख भैंसी नियन्त्रणमा लिएको हो।
स्थानीयले भैंसी नियन्त्रणमा लिन नेपाली सेनालाई पनि आग्रह गरेका थिए। प्रहरीका अनुसार सादा पोसाकका सेना पनि घटना अवलोकनका लागि पुगेका थिए।
भैंसी पाँच दिनअघि घोराही उपमहानगरपालिका–१८ रझेनास्थित बधशाला अर्थात् भैंसी थुनेर राख्न बनाइएको गोठबाट किनेर लगेका व्यक्तिलाई आक्रमण गरी भागेको थियो। ती व्यक्तिले मासुका लागि भैंसी बध गर्न लगेका थिए।
'बध गर्ने ठाउँमा धेरै मानिस देखेपछि भैंसी बिच्किएको भन्ने छ,' एसपी श्रेष्ठले भने, 'बधशालामा भैंसी थुन्ने क्रममा किनेर लैजाने व्यक्तिलाई नै आक्रमण गरी भागेको रहेछ।'
चार दिनसम्म भैंसी खरिदकर्ता आफैले नियन्त्रणमा लिने प्रयास गरे पनि उनी सफल भएनन्। त्यसबीच भैंसीको आक्रमणबाट चार जना घाइते भए। भैंसी नियन्त्रणमा लिन नसक्ने अवस्था बनेपछि बल्ल प्रहरीलाई भनिएको थियो।
जिल्लाका प्रहरी प्रमुख एसपी श्रेष्ठ र जिल्लाका प्रवक्ता डिएसपी डा. हेमबहादुर केसी लगायतका पदाधिकारी पनि घटनास्थल पुगेका थिए।
भैंसी मकैबारीभित्र एउटा कुखुराको खोरमा आराम गरिरहेको देखिएपछि अरू चार–पाँच वटा भैंसी बधशालाबाट त्यहाँ लगेर छोडियो। त्यसपछि भागेको भैंसी शान्त बनेको थियो।
त्यही मौकामा त्यसलाई नियन्त्रणमा लिएर ट्र्याक्टरमा लोड गरी भैंसी किन्ने व्यापारीको जिम्मा लगाइएको स्थानीय बासिन्दा समेत रहेका पत्रकार नरेन्द्र केसीले बताए।
उनका अनुसार व्यवसायीले घोराही–१० नारायणपुर क्षेत्रबाट किनेर ल्याएको भैंसी घोराही–१४ रझेनाबाट भागेको थियो। खरिदकर्ताको मासु पसल भने घोराही–१४ नयाँ बजार (गुज्री) बजारमा छ।
भागेको भैंसी मकैबारी पस्नुअघि तीन दिन बाँसघारीमा बसेको थियो। शनिबार दुई जनालाई र आइतबार थप दुई जनालाई आक्रमण गरी सामान्य घाइते बनाएको थियो।
'मासुका लागि भैंसी ल्याएको भन्ने खुलेको छ,' डिएसपी केसीले भने, 'तर उनले हामीलाई बच्चासहित किनेर ल्याएको भैंसी गोठबाट भागेर आतंक सिर्जना गरेको भनेर नियन्त्रणका लागि हामीलाई आग्रह गरेका थिए।'
झन्डै ६ घण्टा लामो प्रयासपछि बल्ल भैंसी नियन्त्रणमा लिन सम्भव भएको हो।