ह्वाइट हाउसमा ४० करोड डलर खर्चेर बलरूम बनाउने योजना अदालतले रोकिदिएको छ।
बलरूम बनाउन ह्वाइट हाउसको इस्ट विंग भत्काइसकिएको अवस्थामा संघीय पुनरावेदन अदालतले तत्काल काम रोक्न आदेश दिएको हो।
बलरूम ठूलो हल हो, जहाँ औपचारिक समारोह, भोज, नृत्य, रिसेप्सन, सरकारी कार्यक्रम वा ठूला जमघट आयोजना गरिन्छ।
बाहिरी होटलहरूमा त्यस्ता कार्यक्रम गर्दा सुरक्षा चुनौती बढेपछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसभित्रै बलरूम बनाउन लागेका थिए।
वासिङ्टनस्थित यूएस कोर्ट अफ अपिल्स फर द डिस्ट्रिक्ट अफ कोलम्बियाले शुक्रबार २–१ को फैसलामार्फत ट्रम्प प्रशासनलाई बलरुम निर्माण रोक्न आदेश दिएको हो।
अदालतको यो निर्णयले राष्ट्रपतिको अधिकारको सीमासम्बन्धी मुद्दामा ट्रम्पलाई ठूलो झट्का दिएको छ।
बहुमतमा रहेका न्यायाधीशहरूले राष्ट्रपतिको पद स्थायी स्वामित्व नभई अस्थायी जिम्मेवारी भएको उल्लेख गर्दै ह्वाइट हाउसमा ठूलो संरचनात्मक परिवर्तन गर्न राष्ट्रपतिले कंग्रेसको स्वीकृति लिनुपर्ने बताएका छन्।
‘प्रत्येक राष्ट्रपति ह्वाइट हाउसका अस्थायी बासिन्दा हुन्, मालिक होइनन्,’ अदालतको बहुमतको आदेशमा भनिएको छ। कंग्रेसको स्वीकृतिबिना राष्ट्रपतिले ह्वाइट हाउसको संरचनामा आधारभूत परिवर्तन गर्न नसक्ने अदालतको ठहर छ।
नेसनल ट्रस्ट फर हिस्टोरिक प्रिजर्भेसनले दायर गरेको मुद्दामा यसअघि तल्लो अदालतले दिएको प्रारम्भिक रोक आदेशलाई पुनरावेदन अदालतले कायम राखेको हो।
ट्रम्प प्रशासनले गत वर्ष ह्वाइट हाउसको इस्ट विंग भत्काएर करिब ९० हजार वर्गफिट अर्थात् ८ हजार ३६० वर्गमिटर क्षेत्रफलको बलरुम निर्माण सुरु गरेको थियो।
त्यसका लागि कंग्रेसको स्वीकृति नलिइएको भन्दै ऐतिहासिक सम्पदा संरक्षण संस्थाले मुद्दा दायर गरेको थियो।
‘यति ठूलो बलरुम निर्माण गर्ने कि नगर्ने भन्ने निर्णय कंग्रेसले गर्ने विषय हो, कार्यकारीले आफैंले अघि बढेर गर्ने विषय होइन,’ बहुमतका न्यायाधीशहरूले भनेका छन्।
अदालतले भने आफ्नो आदेशलाई १४ दिनका लागि स्थगित राखेको छ। उक्त अवधिमा ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ। ट्रम्पले फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने बताएका छन्।
ट्रम्पले पछिल्लो समय बलरुम निर्माणलाई राष्ट्रिय सुरक्षाको आवश्यकतासँग जोड्दै आएका छन्। शुक्रबार ट्रुथ सोसलमा उनले प्रस्तावित संरचनालाई ‘मिलिटरी सेन्टर’ समेत भनेका छन्।
उनले अदालतको निर्णयलाई भयानक र राजनीतिक उद्देश्यबाट प्रेरित भएको आरोप लगाउँदै यसले आफू, ह्वाइट हाउसका अन्य अधिकारी तथा त्यहाँ आउने आगन्तुकलाई सम्भावित आक्रमणको जोखिममा पारेको दाबी गरेका छन्।
‘यो अन्यायपूर्ण निर्णयलाई सर्वोच्च अदालतले पूर्ण रूपमा उल्टाउनुपर्छ,’ ट्रम्पले लेखेका छन्।
उनका अनुसार प्रस्तावित बलरुममा बम सेल्टर, मेडिकल सुविधा, ड्रोन तथा क्षेप्यास्त्रबाट सुरक्षा दिने प्रविधिसहितका विभिन्न सुरक्षा संरचना राखिनेछन्।
एउटै ठूलो, महँगो र अत्यन्त जटिल संरचनाका रूपमा जोडिने बताएका छन्।
तर अदालतका बहुमत न्यायाधीशहरूले राष्ट्रिय सुरक्षाको तर्कलाई कानुनबाट छुट पाउने आधार बनाउन नसकिने बताएका छन्।
डेमोक्र्याटिक राष्ट्रपतिहरूबाट नियुक्त सर्किट न्यायाधीश प्याट्रिसिया मिलेट र ब्राड गार्सियाले दिएको बहुमतको आदेशमा राष्ट्रिय सुरक्षाका तर्क कानुनबाट स्वतः उन्मुक्ति पाउने कार्ड होइन भनिएको छ।
न्यायाधीशहरूले कार्यकारी शाखाले ऐतिहासिक राष्ट्रिय सम्पदा भत्काउन र व्यक्तिको हितमा असर पार्न सक्ने तथा त्यसलाई कुनै अदालतले रोक्न नसक्ने दाबी गर्नु अमेरिकी संवैधानिक व्यवस्थाकै विपरीत हुने बताएका छन्।
‘कार्यकारीले पूर्ण रूपमा कानुनविहीन ढंगले काम गर्न सक्छ, प्रिय राष्ट्रिय ऐतिहासिक सम्पदा नष्ट गर्न सक्छ र त्यसलाई कुनै अदालतले रोक्न सक्दैन भन्ने साहसिक दाबी हाम्रो संवैधानिक व्यवस्थाको अवहेलना हो,’ बहुमतको आदेशमा भनिएको छ।
तर ट्रम्पकै पहिलो कार्यकालमा नियुक्त सर्किट न्यायाधीश नेओमी राओले यस फैसलामा असहमति जनाएकी छन्। उनले बलरुम निर्माण रोक्ने तल्लो अदालतको आदेश संघीय अदालतको अधिकार क्षेत्रभन्दा बाहिर रहेको बताएकी छन्।
‘जिल्ला अदालतले ह्वाइट हाउसमा भइरहेको निर्माणको प्रत्यक्ष निगरानी आफ्नो हातमा लिएको छ र मेरा सहकर्मीहरूले पनि यो न्यायिक अतिक्रमणलाई कायम राखेका छन्,’ राओले आफ्नो असहमति आदेशमा लेखेकी छन्। उनका अनुसार निर्माणलाई निरन्तरता दिन दिनुपर्छ।
बलरुम निर्माण रोक्नुअघि अमेरिकी जिल्ला अदालतका न्यायाधीश रिचर्ड लियोनले दुईपटक उक्त स्थानमा भूमिमाथिको निर्माण रोकिसकेका थिए। तर उनले भूमिगत निर्माण भने जारी राख्न अनुमति दिएका थिए। लियोन रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले नियुक्त गरेका न्यायाधीश हुन्।
मुद्दाको सुनुवाइका क्रममा जुन ५ मा न्याय विभागका वकिल याकोभ रोथले अदालतलाई बलरुम निर्माण निजी स्रोतबाट भइरहेको परियोजना भएकाले त्यसको वास्तुकला वा डिजाइनबारे अदालतले निर्णय गर्न नहुने तर्क गरेका थिए। नेसनल ट्रस्टको वास्तुकलासम्बन्धी प्राथमिकता राष्ट्रिय सुरक्षाभन्दा माथि हुन नसक्ने उनको भनाइ थियो।
रोथले पुरानो इस्ट विंगका कारण राष्ट्रपति र ह्वाइट हाउसमा रहेका अन्य व्यक्तिहरू सम्भावित आक्रमणप्रति जोखिममा रहेको प्रमाण रहेको दाबी गरेका थिए।
ट्रम्प प्रशासनले ठूलो औपचारिक समारोह आयोजना गर्न पर्याप्त ठाउँ नभएको र ह्वाइट हाउसको सुरक्षा सुधार गर्न बलरुम आवश्यक रहेको बताउँदै आएको छ।
यो परियोजना वासिङ्टनको सरकारी भवन र राष्ट्रिय स्मारकहरूको स्वरूप परिवर्तन गर्ने ट्रम्पका कैयौं प्रयासमध्ये सबैभन्दा ठूलो मानिएको छ।
यसैबीच, अर्को छुट्टै मुद्दामा एक न्यायाधीशले केनेडी सेन्टरको बाहिरी भागमा ट्रम्पको नाम थप्नु गैरकानुनी भएको ठहर गर्दै उक्त नाम हटाउन आदेश दिएका छन्।
बलरुम परियोजनाको लागत पनि प्रारम्भिक अनुमानको तुलनामा दोब्बर भइसकेको छ। ट्रम्पले गत मेमा ट्रुथ सोसलमा लागत बढ्नुको कारण संरचना पहिलेको प्रस्तावभन्दा करिब दोब्बर ठूलो र उच्च गुणस्तरको बनाइँदै गरेको बताएका थिए। उनले बलरुम भव्य, सुरक्षित र सुरक्षायुक्त हुने दाबी गरेका थिए।
नेसनल ट्रस्ट फर हिस्टोरिक प्रिजर्भेसनका अध्यक्ष ब्रेन्ट लेग्सले अदालतको फैसलालाई स्वागत गर्दै यो देशका लागि र ह्वाइट हाउससहित आफूहरूले माया गर्ने ऐतिहासिक स्थानबारे आफ्नो धारणा व्यक्त गर्ने अमेरिकी जनताको अधिकारका लागि ठूलो दिन भएको बताएका छन्।