नाबालिकाको डिम्ब किनबेच प्रकरणमा डा. नुतन शर्मा हाजिर जमानीमा छुटेकी छन्।
सरकारी वकिलको कार्यालय ललितपुरले डा. शर्मालाई बिहीबार हाजिर जमानीमा राख्न आदेश दिएको हो।
बिएन्डबीको आइभिएफ क्लिनिकबाट डा. शर्माले १७ वर्षीया किशोरीको डिम्ब निकाले आरोप छ।
उनी पछिल्लो समय फिलिपिन्स गएकी थिइन्। त्यहाँबाट फर्किएपछि निवेदन दिएर प्रहरी कहाँ आफैं उपस्थित भएकी थिइन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार उनको बिहीबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो।
बयानमा डा. शर्माले इन्कारी बयान दिएको प्रहरी स्रोतले बतायो।
उनले उमेर प्रमाणीकरणको जिम्मेवारी आफ्नो नभएको र उपचारका लागि आउँदा पनि ती किशोरीको उमेर २१ वर्ष रहेको बयानमा बताएकी छन्।
‘हामीलाई उपलब्ध गराइएको कागजातमा सेवाग्राहीको उमेर २१ वर्ष उल्लेख छ। त्यही कागजातका आधारमा प्रचलित चिकित्सा प्रक्रिया अपनाइएको हो,’ डा. शर्माले दिएको बयानलाई उदृत गर्दै स्रोतले भन्यो, ‘मैले कुनै गैरकानुनी काम गरेकी छैन।’
प्रहरीले यो घटनामा यसअघि एक जना महिलालाई नियन्त्रणमा लिएर मानव बेचबिखनको कसुरमा अनुसन्धान गरिरहेको थियो। प्रहरीले साउन १ गते एक जना इमाडोल बसेर ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई नियन्त्रणमा लिएको थियो।
उनैले १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा आइभिएफमा पुर्याएर डिम्ब झिकेको आरोप थियो। डिम्ब झिकेबापत किशोरीलाई ३० हजार रुपैयाँ दिइएको अनुसन्धानमा खुलेको थियो। किशोरी बिरामी भएपछि यो घटना बाहिर आएको थियो।
यसअघि पनि प्रहरीले नाबालिकाको डिम्ब तस्करी गरेको अभियोगमा अनुसन्धान अघि बढाएको थियो। तर महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचलाउने निर्णय भएपछि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी विवादमा तानिएकी थिइन्।