कपिलवस्तुको बाणगंगा नदीमा दुई जना बालक बेपत्ता भएका छन्। यशोधरा गाउँपालिका वडा नं. ८ सिहोखोरस्थित बाणगंगा नदीमा नुहाउन गएका दुई बालक शनिबार साँझदेखि बेपत्ता भएका हुन्।
शनिबार दिउँसो स्थानीय १३ वर्षीय सर्फराज मुसलमान र ११ वर्षीय उबैद मुसलमान र अर्बाज नुहाउन भन्दै बाणगंगा नदीमा गएका थिए।
नुहाउने क्रममा सर्फराज र उबैद डुबेर बेपत्ता भएका छन् भने अर्बाजलाइ शनिबार साँझ नै स्थानीयले नदी किनारमा घाइते अवस्थामा फेला पारेका थिए।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुवरले शनिवार नुहाउन गएका तिन जना मध्ये एक जनालाई घाइते अवस्थामा फेला पारिएको र दुई जना बेपत्ता भएको बताए।
‘एक जना बालकलाई नदीले बगाएर घाइते अवस्थामा किनारमा फालेको अवस्थामा स्थानीयले फेला पारेको र अस्पतालमा उपचार गरी घर पठाइएको छ भने दुई जनाको अवस्था अज्ञात छ, अहिले पनि स्थानीयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ,’ प्रहरी निरीक्षक कुवरले भने।
प्रहरी निरीक्षक कुवरका अनुसार घाइते अवस्थामा फेला परेका अर्बाजले भनेपछि मात्रै सर्फराज र उबैदलाई नदीले बगाएको थाहा भएको थियो।
वडा नं. ८ का वडा अध्यक्ष सहावुद्दिन मुसलमानका अनुसार बालकहरू नदीमा बेपत्ता भएको जानकारी पाए लगत्तै स्थानीयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो।
शनिबार साँझ र आइतबार पनि बिहानैदेखि कार्य कार्य जारी राखे पनि बालकहरूको अवस्था पत्ता लाग्न नसकेको वडा अध्यक्ष मुसलमानले बताए।
यस्तै कपिलवस्तुकै बाणगंगा नगरपालिका- ९ देउराली चोक नजिकै रहेको खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।
शनिबा दिउँसो माछा मार्ने भन्दै गएका १० वर्षीय सुजित राना खोलामा डुबेका थिए।