म्याग्दीको हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन्।
अन्नपूर्ण गाउँपालिका-६ स्थित घारा हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएको नेपाल प्रहरीले जानएको छ।
मंगलबार बिहान करिब सवा ५ बजे घारा हाइड्रोपावरमा माथिबाट ढुंगासहितको पहिरो खसेको हो।
पहिरो खस्दा हाइड्रोपावरमा काम गर्ने क्रममा ड्युटीमा रहेका म्याग्दी, अन्नपूर्ण गाउँपालिका-६ का अन्दाजी ५५ वर्षीय दिपक बरुवाल पहिरोमा पुरिएर बेपत्ता भएका हुन्।
सोही पहिरोबाट खसेको ढुंगाले हाइड्रोपावरमा काम गर्न जाने क्रममा गौरीगंगा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विकलाई लाग्दा घाइते भएका छन्।
उनको दाहिने हात र दुवै खुट्टामा चोट लागेको छ। उनको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ।
घटनास्थलमा भुरूङ तातोपानीबाट प्रहरी नायब निरीक्षक मोहन गुरुङको कमाण्डमा प्रहरी टोली खटिएर बेपत्ता बरुवालको खोजी कार्य भइरहेको छ।