बच्चाले सिटमा बस्न र सिटबेल्ट लगाउन नमान्दा क्यानडाको पोर्टर एयरलाइन्सको उडान रद्द भएको छ।
क्यानडाको टोरन्टोस्थित एयरलाइन्स कम्पनी पोर्टरले आइतबार दिएको जानकारी अनुसार गत बिहीबार अभिभावक र चालक दलका सदस्यहरूले बच्चालाई सिटमा सुरक्षित रूपमा राख्न पटकपटक प्रयास गरे पनि सफल हुन सकेनन्।
त्यसपछि ब्रिटिस कोलोम्बियास्थित भिक्टोरिया इन्टरनेसनल विमानस्थलको टर्मिनलमा फर्काएर अभिभावक र बच्चालाई जहाजबाट हटाइएको समाचार संस्था एपीले जनाएको छ।
यसबीच रातिको साढे १२ बजे धावनमार्ग बन्द हुने समय भएर उडान रद्द भएको थियो।
उक्त जहाज टोरोन्टोको पियरसन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने तयारीमा थियो। रनवेतर्फ गइसकेको जहाजमा सवार बच्चाले सिट बेल्ट लगाउन नमानेपछि सुरक्षाको दृष्टिकोणले फर्काउनुपरेको एयरलाइन्स कम्पनीले बताएको छ। बालक कति उमेरको थियो भन्ने खुलाइएको छैन।
पोर्टरले अन्य यात्रुसँग माफी माग्दै उनीहरूलाई भोलिपल्टको उडानमा पुनः बुक गरिएको जनाएको छ।