ललितपुरको इमाडोलमा एक जनाको शव फेला परेको छ।
मंगलबार मध्याह्न १२ बजेतिर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ एबिसी टोलमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
पानी जमेको स्थानमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो। शव सडीगलिसकेको अवस्थामा फेला परेको एसपी मिश्रले बताए।
‘शव गल्न थालिसकेको अवस्थाको छ। केही दिनअघि नै मृत्यु भएको हुनसक्छ,’ उनले भने, ‘शरीरमा चोटपटक देखिएको छैन। सम्भवत: पानीमा लडेपछि उठ्न नसकेको हुनसक्छ।’
अन्दाजी ४० वर्षका पुरूष मृतकको पहिचान खुलिसकेको छैन।
चउरमा घाँस काट्न जानेक्रममा एक जना व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो।
‘सडकबाट अलिभित्र पट्टी छ। टाढाबाट हेर्दा कपडाका कारणले बोरा जस्तो देखिने रहेछ। त्यसकारण बोरा सोचेर चाल पाएनन् होला। आज घाँस काट्न पुग्दा शव देखेपछि खबर भएको हो,’ उनले भने।
अहिले प्रहरीले घटनास्थल पुगेर मुचुल्काको काम गरिरहेको छ। मुचुल्का सकेपछि पोष्टमर्टमको लागि पाटन अस्पताल लग्ने तयारी छ।