सुर्खेत प्रहरीले श्रीमतीको हत्या गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
मंगलबार बेलुकी ५ बजेतिर जिल्लाको भेरीगंगा नगरपालिका – १३ रामघाटका ४९ वर्षीय जयबहादुर रानाले आफ्नी ५० वर्षीया श्रीमती महेश्वरी रानाको हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका हुन्।
जयबहादुरले श्रीमतीको शरीरमा आगो लगाइदिएका थिए। उनकी छोरी १८ वर्षीया पुष्पाले तत्काल आगो निभाएर सवा ६ बजेतिर उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्याएकी थिइन्।
घाइते महेश्वरीलाई पौने ७ बजेतिर थप उपचारको लागि बाँकेको नेपालगंजस्थित भेरी अस्पतालमा रेफर गरिएको थियो ।
भेरी अस्पतालबाट जलनमा परेकी महेश्वरीलाई थप उपचारका लागि राति ११ बजे छिमेकी देश भारतको लखनउका लागि रिफर गरिएको प्रहरीले जनाएको छ।
महेश्वरीको अनुहार, घाँटी र शरीरको विभिन्न भागमा गरी करिब शरीरको ३६ प्रतिशत जति भाग जलेको चिकित्सकले जनाएका छन्।
उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए।