रोल्पाको थवाङमा पहिरोमा परी बेपत्ता भएका ९ जनाको पहिचान खुलेको छ।
बुधबार बेलुकी ९ बजे थवाङ गाउँपालिका बोटलबारामा पहिरोले कमलबहादुर पुन मगरको घरसहित अरू ६ वटा घरगोठ पुरिँदा बिहीबार दुई जनाको मृत्यु र १० जना बेपत्ता थिए।
बिहानपख थप एक महिला मृत भेटिएकी थिइन्।
पहिरोमा परी अझै ९ जना बेपत्ता भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुले जानकारी दिए।
बेपत्ता हुनेहरूमा ४ जना पुरूष, ३ जना महिला र २ जना बालक छन्। कमलबहादुरकी छोरी ४० वर्षीया जुनकुमारी पुन मगर पनि बेपत्ता छिन्।
त्यस्तै ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मणी पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर पहिरोमा हराइरहेको डिएसपी बाखुले जानकारी दिए।
कमलबहादुर, १८ वर्षीया शान्ति पुन मगर र ७१ वर्षीय मनरखी पुन मगरको शव पहिरोबाट निकालिएको छ।
पहिरोमा बेपत्ताहरुको खोज तथा उद्धारका लागि जिल्लाका प्रहरी प्रमुख डिएसपी बाखु, जिल्लास्थित नेपाली सेनाको श्री सूर्य दल गण प्रमुख सेनानी दिपेश खड्का र जिल्लास्थित सशस्त्र प्रहरी बल आश्रित गुल्मबाट सहायक प्रहरी नायब उपरीक्षक नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगाले नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।