कास्कीको अन्नपूर्ण गाउँपालिका–६, बिरेठाँटीस्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण मन्दिरमा बाढीका कारण फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीका अनुसार शुक्रबार बिहान करिब २:१५ बजे मोदीखोलामा आएको बाढीले मन्दिरसम्म आवतजावत गर्न प्रयोग हुने कास्की र पर्वततर्फका दुईवटा मेटल पुल तथा मन्दिरको आधा भाग बगाएको थियो।
त्यसपछि मन्दिरका पुजारीसहित तीन जना त्यहाँ फसेका थिए।
घटनाको सूचना पाएलगत्तै सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमान्डमा १३ जना रोप रेस्क्यु तथा गोताखोरसहितको टोली र नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा १६ जनाको टोली उद्धारका लागि परिचालन भएको थियो।
सशस्त्र प्रहरीले बिहान ५:१५ बजेदेखि उद्धारका लागि रोपको बेस तयार गर्न थालेको थियो। बिहान ७:३५ बजे सशस्त्र प्रहरी सहायक प्रहरी निरीक्षक देवराज खनाल र सशस्त्र प्रहरी जवान सन्तोष बाँनिया रोपको सहायताले खोला पारि पुगेपछि उद्धारको तयारी पूरा गरिएको थियो।
त्यसपछि सशस्त्र प्रहरी सहायक हवल्दार इन्द्रबहादुर गुरुङ र सशस्त्र प्रहरी जवान जनक बुढा थप सहयोगका लागि खोला पारि पुगेका थिए।
उनीहरूले रोप रेस्क्यु विधिबाट बिहान ७:५५ देखि ८:१५ बजेसम्म तीनै जनाको सकुशल उद्धार गरेका हुन्।
बाढीले अन्नपूर्ण गाउँपालिका–६ नयाँपुलदेखि घान्द्रुक जाने सडकखण्डका विभिन्न स्थानमा करिब ३०० देखि ४०० मिटर सडक बगाएको छ। सडकमा क्षति पुगेपछि उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको छ।
नयाँपुल क्षेत्रमा विद्युत्को पोलसमेत बाढीले बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको सशस्त्र प्रहरीले जनाएको छ।
-1786682919.jpg)
-1786682918.jpg)