अविरल वर्षापछि बाढी पहिरोले पश्चिम नेपालमा जनधनको क्षति भएको छ।
मनसुनी वायुको प्रभावले गण्डकी प्रदेशदेखि सुदूरपश्चिम प्रदेशसम्म भारीदेखि धेरै भारी वर्षाका विभिन्न जिल्लामा बाढी र पहिरोको गएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको चौबीस घन्टामा स्याङ्जाको पञ्चमुलमा १५३ मिलिमिटर, डाँडास्वारामा १४६.८ मिलिमिटर, लमजुङको गिलुङमा १७९.२ मिलमिटर, भुजुङमा १४८.४ मिलिमिटर, कास्कीको याङ्जाकोटमा १४३ मिलिमिटर, मालेपाटनमा १४०.२ मिलिमिटर, घलेखर्कमा १४१.२ मिलिमिटर, सिकलेसमा १३१.६ मिलिमिटर, लुम्लेमा १०४.२ मिलिमिटर, चोमरोङमा १००.२ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै कपिलवस्तुको रंगाइमा ११६.६ मिलिमिटर, बागलुङको बोबाङमा ११२.८ मिलिमिटर, भिमगिठ्ठेमा १०४.२ मिलिमिटर, बाँकेको नेपालगन्जमा १११.२ मिलिमिटर, जाजरकोटमा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ।
अरू ठाउँमा पनि मध्यमदेखि भारी वर्षा भएको थियो।
वर्षाका कारण स्याङ्जा, कास्की, रोल्पा, बाजुरा, जाजरकोटका विभिन्न ठाउँमा बाढी, पहिरो र कटानका घटना भएका छन्।
पहिरोका कारण कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरूद्ध छ।
बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरूद्ध छ।
निसीखोला गाउँपालिका-४ कानाबजार नजिक ठाडोखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरूद्ध रहेको छ।
सडक अवरूद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
अविरल कास्कीको अन्नपूर्ण गाउँपालिका–६, बिरेठाँटीस्थित मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण मन्दिर आधा बगाएको छ।
मन्दिर आवतजावत गर्ने दुइटा फलामे पुल बगाएको छ। राति सवा २ बजे मोदीखोलामा बाढी आएपछि मन्दिरमा पुजारी र दुई भक्तजन फसेका थिए।
उनीहरूलाई शुक्रबार बिहान सवा ८ बजे उद्धार गरिएको थियो।
अन्नपूर्ण गाउँपालिका–१० को घान्द्रुक जाने सडकखण्डमा मोदी खोलामा आएको आकस्मिक बाढीले दुई होटल, एउटा पुल र सडकमा क्षति पुर्याएको थियो।
बाढीले घान्द्रुक जाने सडकसमेत अवरुद्ध भएको छ।

स्याङ्जाको पुतलीबजार नगरपालिका-१ स्थित अरौदीखोलाको बाढीले मोटरसाइकल बगाउँदा चालक बेपत्ता छन्। मोटरसाइकल भने करिब १०० मिटर तल खोलामा भेटिएको छ।
बाढीले स्थानीय दिलिप गुरुङ र जगन पुनका होटल पूर्ण रूपमा बगाएको थियो।
अविरल वर्षापछि जाजरकोटको नलगाड नगरपालिका-१० तासघाटमा झोलुंगे पुल बगाएको छ। पुलको पश्चिम तर्फको भाग र केही घरहरू पनि बगाएको छ।
त्यहाँ प्रहरी टोली परिचालन गरिए पनि घटनास्थल पुगिसकेको छैन।
बाढीले रोलीका पृथीबहादुर विकको दुई तले ढुङ्गा–माटोले बनेको र ढुंगाले छाएको घर बगाएको छ। विकको परिवारका ९ जना सदस्य भने सुरक्षित छन्।
त्यस्तै, स्थानीय खैते विकको दुईतले ढुङ्गा–माटोले बनेको र ढुंगाले छाएको घर, नरबहादुर विकको तीन तले ढुङ्गा–माटोले बनेको र ढुङ्गाले छाएको घर र हस्त विकको दुई तले ढुंगा–माटोले बनेको र ढुंगाले छाएको घर बाढीको उच्च जोखिममा छन्।
ती तीन घरका थप २८ जना सदस्यलाई पनि सुरक्षित ठाउँमा स्थान्तरण गरेको प्रहरीले जनाएको छ ।
रोल्पाको सुनछहरी-२ फलबाङमा पहिरो जाँदा घर पुरिएको छ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक मकर रासकोटी नेतृत्वको टोली बिहान ९ बजेतिर घटनास्थल पुगेको थियो।
पहिरोले स्थानीय वीरबहादुर घर्तीको घर पूर्ण रुपमा पुरिएको अवस्थामा रहेको श्रेष्ठले बताए।
पहिरोमा परी वीरबहादुर घर्ती मगर, उनकी श्रीमती सनी घर्ती मगर र राति सोही घरमा सुत्न आएकी छिमेकी लली घर्ती मगर बेपत्ता छन्।
त्यस्तै सुनछहरी–२ गिट्ठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले पूर्ण रुपमा परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पहिरोले घर पुरेको भन्ने खबरपछि प्रहरी चौकी सिउरीबाट प्रहरी सहायक निरीक्षक लालबहादुर पाण्डेको नेतृत्वमा टोली बिहान ९ बजे घटनास्थल पुगेको थियो।
यहाँ कति जना मानिस थिए भन्ने बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।
बाजुरामा पनि मध्यराति खसेको पहिरोले घर पुर्दा बेपत्ता युवतीको शव फेला परेको छ।
जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुमा झरेको पहिरोले घर पुर्दा बेपत्ता २० वर्षीया प्रतिक्षा थापाको शव बिहान पौने १० बजेतिर फेला परेको जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए।
सोही पहिरोमा परि घाइते रहेका ४० वर्षीया धौली देवीरावत र ४० वर्षीय धर्म थापालाई प्रहरीले आफैले स्ट्रेचरमा बोकेर बाटोसम्म पुर्याएको र त्यहाँबाट गाडीमा राखेर जिल्ला अस्पताल मार्तडी पुर्याइ उपचार भइ रहेको इन्स्पेक्टर शाहीले बताए।
प्रहरीका अनुसार दुई घाइते मध्य रावतको अवस्था गम्भीर छ भने थापाको अवस्था मध्यम छ।
घटनास्थलमा उद्धार सामग्रीसहित जिल्ला प्रहरी प्रमुख डिएसपी शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली पुगेर खोज तथा उद्धारको कार्य जारी राखेको छ।