रोल्पाको सुनछहरी पहिरोमा बेपत्ता तीनै जनाको शव फेला परेको छ।
अविरल वर्षापछि गएराति घर माथिबाट झरेको पहिरोका कारण जिल्लाको सुनछहरी गाउँपालिका–२ फलबाङका ७७ वर्षीय वीरबहादुर घर्ती मगर, उनकी ६८ वर्षीया श्रीमती शनी घर्ती मगर र राति सोही घरमा सुत्न आएकी छिमेकी ७० वर्षीया लली घर्ती मगरको शव फेला परेको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी पंचकुमार बाखुले सुनछहरी–२ का एक जनाको खोजी भइरहेको बताए।
गिट्ठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले पूर्ण रूपमा भत्किएको छ। उनी अझै फेला नपरेको तथा खोजी कार्य जारी रहेको डिएसपी बाखुले जानकारी दिए।
राति पहिरोले घर पुरेको घटनाको खबर प्रहरी चौकी सिउरीले बिहान आठ बजेपछि मात्रै स्थानीयबाट सूचना पाएको थियो। त्यसपछि सिउरीबाट प्रहरी सहायक निरीक्षक लालबहादुर पाण्डेको नेतृत्वमा टोली बिहान ९ बजे घटनास्थल पुगेर बेपत्ताको खोजी जारी राखेको छ।
त्यस्तै, फलावाङ पहिरोबारे स्थानीयले शुक्रबार बिहान ८ बजेपछि प्रहरी चौकी गाममा सूचना दिएका थिए। जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक मकर रासकोटी नेतृत्वको टोली बिहान ९ बजेतिर घटनास्थल पुगेर खोज तथा उद्धारको कार्य थालेको थियो।
जिल्लाकै थवाङ–५ कोटलबारामा बुधबार बेलुकीपख लेदो हिलोसहितको पहिरोका कारण एउटा बस्ती नै सखाप भएको थियो। त्यो पहिरोमा १० जनाको शव बिहीबार नै फेला परेको थियो। ५ वटा शव घटनास्थलमै र थप ५ वटा शव प्यूठानको माडी खोलाका विभिन्न स्थानमा फेला परेका थिए।
थवाङ पहिरोमा परेका थप ३ जना भने अझै फेला परेका छैनन्।
डिएसपी बाखुका अनुसार शुक्रबार बिहानैदेखि इप्रका थवाङ, उवा लगायतका प्रहरी युनिटले खोजी कार्य जारी राखेको छ।
घटनाका दुई जना घाइतेको भने बुटवलमा उपचार भइरहेको छ ।