स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदी खोलाले मोटरसाइकल सहित बगाएका २१ वर्षीय युवक मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–३ बाडखोलाका सलिम मगरलाई गएराति अरौदी खोलाले ग ११ प ८१८३ नम्बरको मोटरसाइकल सहित बगाएको थियो।
मगरको खोजीका क्रममा शुक्रबार दिउँसो पुतलीबजार नगरपालिका–१३ गैरीजागरस्थित आँधीखोलामा शव फेला परेको हो।
सुरक्षाकर्मीले शव खोलाबाट बाहिर निकाली मुचुल्का तयार गरेर पोस्टमर्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएका छन्।
मगरसँगै मोटरसाइकलमा सवार पुतलीबजार नगरपालिका–३ पुतलीखेतका १७ वर्षीय समिप शाही भने घटनापछि सकुशल रहेका थिए।
मगरको खोजीमा सिंहसार्दुल गुल्म स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म वालिङबाट खटिएको टोली परिचालन भएको थियो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।