मकवानपुरमा पार्किङको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहार भएको छ।
हेटौंडा उपमहानगरपालिका-१० बसपार्कमा गाडी पार्किङको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका हुन्।
घाइते हुनेमा मकवानपुरको मनहरी गाउँपालिका-६ का २७ वर्षीय जीवन गोले, ओखलढुंगाको सिंहदेवी गाउँपालिका-७ का २८ वर्षीय राइज आले मगर, चितवनको राप्ती नगरपालिका-२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रिन र चितवनको राप्ती नगरपालिका-४ डडुवाका २८ वर्षीय जीवन तामाङ छन्।
घटना शुक्रबार बिहान करिब ११:३० बजेको हो।
हेटौँडा-१० बसपार्कमा मकवानपुर मनहरी गाउँपालिका-१ मकरी बस्ने करिब ३१ वर्षीय लक्ष्मण बर्तौला र अन्य व्यक्तिबीच गाडी पार्किङको विषयलाई लिएर विवाद भएको थियो।
विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका हुन् ।
घाइते चारै जनालाई हेटौँडामा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ ।
घटनापछि खोजतलास तथा अनुसन्धान अघि बढाउने क्रममा घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ।
हेडौंडा-१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौंडा-१५ भोर्लेका २८ वर्षीय करण लामा, मनहरी गाउँपालिका- १ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौला छन्।
घटनामा संलग्न रहेको शंकाका आधारमा जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ३७ वर्षीय लक्ष्मण विष्टलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।