रोल्पाको थवाङमा बुधबार बेलुकी खसेको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ।
शनिबार प्यूठानको सरुमारानी गाउँपालिका – २ ददेरीस्थित राप्ती नदीको बीच भागमा एक पुरुषको शव फेला परेको छ।
प्यूठानका प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीका अनुसार राप्ती नदीमा मृत अवस्थामा फेला परेका व्यक्ति थवाङ पहिरोमा परी बेपत्ता रहेका रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबाराका ८० वर्षीय अजम्बर पुन मगर रहेको भन्ने खुलेको बताए।
‘हामीले फोटो खिचेर पठाउँदा उहाँका छोराले शवको पहिचान गर्नु भएको हो,’ डिएसपी अधिकारीले भने, ‘अझै यकीन गर्न उहाँहरु प्यूठान आउँदै हुनुहुन्छ।’
थवाङ पहिरोको दोस्रो दिन बिहीबार बिहान ५ वटा शव प्यूठानको माडी खोलाको विभिन्न क्षेत्रमा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार बिहीबार जिल्लाकै सुलिचौर क्षेत्रको लुङ्ग्री खोला किनारमा फेला परेको खुट्टाको अंग ‘पैंतला’को भाग कोटलबारा पहिरोमा परी बेपत्ता ६१ वर्षीय लिलबहादुर पुन मगरको भएको खुलेको छ।
लिलबहादुरका छोरा गोबबहादुर पुन मगरले सनाखत गरेका थिए। उनले अन्तिम संस्कारका लागि पैतालाको भाग बुझेर लगेको पनि प्रहरी निरीक्षक श्रेष्ठले बताए। लिलबहादुरको बाँकी शरीर भने भेटिएको छैन।
अब थवाङको कोटलबारा पहिरोमा परेका १३ जना मध्य ९ वर्षीय अशिम पुन मगर मात्रै फेला पर्न बाँकी छन्।
कोटलबारा पहिरोका दुई जना घाइतेको भने बुटवलमा उपचार जारी छ।
थवाङ गाउँपालिका–५ कोटलबारामा बुधबार बेलुकी ग्रेगान तथा लेदो हिलो माटोसहितको पहिरो पानी बग्ने खोँच हुँदै बस्ती पसेपछि कोटलबारा गाउँ नै तहस नहस पारेको थियो।
त्यो विनाशकारी पहिरोले स्थानीयका घर, गोठ, चर्च र एउटा घुम्ती पसलसमेत गरी १३ वटा संरचना पूर्ण रुपमा नष्ट गरेको थियो।
कोटलबारामा पहिरो खसेको दोस्रो दिन बिहीबार १० जनाको शव फेला परेको थियो।
तीमध्ये ५ वटा शव घटनास्थलमै र थप ५ वटा शव प्यूठानमा फेला परेका थिए।
५ जनाको शव घटनास्थल भन्दा झन्डै ४४ किलोमिटर टाढा फेला परेका थिए। पहिरोपछि स्थानीय खोलामा आएको बाढीले बगाएर ती शवहरु त्यहाँ पुर्याएको थियो।
रोल्पाकै सुनछहरी गाउँपालिका– २ मा बिहीबार रातिको पहिरोले दुई वटा घर पूर्ण रुपमा नष्ट गर्दा त्यसमा सुतिरहेका चार जनाको मृत्यु भएको थियो।
शुक्रबार दिउँसो स्थानीय र प्रहरीले मिलेर खोज तलास गर्ने क्रममा एक दम्पत्तिसहित चार जनाको शव फेला परेको थियो।
रोल्पामा बुधबार र बिहीबार थवाङ र सुनछहरीमा पहिरोका कारण १६ जनाले ज्यान गुमाएका छन्। रोल्पाकै लुङग्री गाउँपालिका–१ खदरमा चट्याङबाट गएको बिहीबार राति थप एक जनाको मृत्यु भएको थियो।