युरोपेली देश बेल्जियमको इस्ट फ्लेन्डर्सस्थित एउटा घर मर्मत गर्ने क्रममा कामदारहरूले भित्तामा सुनको ठूलो खजाना फेला पारेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार उक्त खजानाको मूल्य करिब ९० लाख युरो अर्थात् करिब १ अर्ब ५८ करोड रूपैयाँ बराबर छ।
भित्ताभित्र सुनका इँटा र सिक्काहरू फेला परेका थिए।
कामदारहरूले यसै साता ढलको पाइप बिछ्याउन ड्रिलिङ गरिरहेका बेला खजाना फेला पारेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
खजाना फेला परेपछि अब यो सुन कसको स्वामित्वमा जान्छ भन्ने प्रश्न उठ्न थालेको छ। यसलाई प्राप्त गर्ने मौका कामदारहरूसँगै यो ठाउँको स्वामित्व भएका स्थानीय संस्थासँग पनि छ।
अनुसन्धान सुरू गरेपछि प्रहरीले मानिसहरूलाई त्यहाँ गएर थप खजाना नखोज्न आग्रह पनि गरेको छ।
प्रहरीले घरको पूर्ण रूपमा खानतलासी भइसकेको र सबै सुन सुरक्षित स्थानमा राखिएको जनाएको छ।
कामदारहरूले घरको जगमा काम गरिरहेका बेला सुनको खजाना फेला पारेका हुन्। खजाना फेला पार्नेमा १८ वर्षका एक छात्र पनि थिए, जो गर्मीको बिदामा केही अतिरिक्त कमाइ गर्न काम गरिरहेका थिए।
'हामीले सुरूमा त विश्वासै गर्न सकेनौं, धेरै छक्क परेका थियौं,' कोबे नामका यी छात्रले भने, 'सुरूमा मलाई लाग्यो, यी युरोका सिक्का हुन्। त्यसपछि हामीले त्यहाँ सुनको एउटा टुक्रा पनि देख्यौं। अनि मात्र हामीलाई खजाना फेला परेको महसुस भयो।'
त्यसको केही समयपछि उनीहरूले प्रहरीलाई जानकारी दिए र यो आफ्नो साथमा राख्न सम्भव नभएको बताए।
जुन ठाउँमा सुनको खजाना भेटियो, त्यो अहिले 'सिएडब्ल्यू ओस्ट-भ्लान्दरेन' नामक संस्थाको हो। यो संस्थाले डेन्डरमोन्डे क्षेत्रमा मानिसहरूलाई सामाजिक तथा कल्याणकारी सहायता उपलब्ध गराउँछ।
यसका निर्देशक गिर्ट हिलर्टले यो खजानाको प्रयोग भविष्यमा संस्थाको काममा गर्ने आशा व्यक्त गरे।
कसले पाउनेछ सुन?
बेल्जियमको कानुन अनुसार वास्तविक मालिकसँग यो खजानामाथि दाबी गर्न पाँच वर्षको समय छ।
यद्यपि, यो मामिलामा अनुसन्धान गरिरहेका स्थानीय सरकारी वकिलले हालसम्म मालिक को हो भन्ने पत्ता नलागेको बताएका छन्।
कोही पनि अगाडि आएन भने, सिभिल कानुन अनुसार अरू कसैको जग्गामा लुकाइएको खजाना फेला पार्ने व्यक्ति र त्यो जग्गाको मालिकबीच बाँडिनेछ।
यो तब मात्र हुनेछ, जब यो खजाना कुनै अपराधसँग जोडिएको छैन भनी प्रमाणित हुनेछ।