इरान विरुद्ध युद्ध सुरु भएयता ७५० जना अमेरिकी सैनिक घाइते भएको खुलेको छ।
अमेरिकी रक्षा मन्त्रालयको डिफेन्स क्याजुअलिटी एनालाइसिस् सिस्टम (डिसिएएस)ले घाइतेको संख्यामा ५० थप गरी नयाँ विवरण सार्वजनिक गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
युद्धमा १८ जना अमेरिकी सैनिकको मृत्यु भएको रिपोर्ट अगाडि नै सार्वजनिक भएको थियो।
सिएनएनका अनुसार ‘ओभरसिज अपरेसन्स’ र ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गतका कारबाही क्रममा भएको मृत्यु र घाइतेको संख्या डिसिएएसले सार्वजनिक गरेको हो।
रक्षा मन्त्रालयले गत महिना डिसिएएसमा ‘ओभरसिज अपरेसन्स’ नामको छुट्टै श्रेणी थपेको थियो।
त्यसमा जुलाई ७ देखि मारिएका र घाइते भएका अमेरिकी सैनिकलाई राखिएको छ।
तर पेन्टागनले अहिलेसम्म यो श्रेणी कुन द्वन्द्वसँग सम्बन्धित हो भन्नेबारे थप विवरण सार्वजनिक गरेको छैन।
अमेरिकी सैनिकको हताहतीसम्बन्धी तथ्यांक यसअघि पनि विवादमा परेको थियो।
गत महिना पेन्टागनको तथ्यांकमा इरानका आक्रमण जारी रहेकै बेला मृतक र घाइते सैनिकको संख्या अचानक घटाइएको भनेर आलोचना भएको थियो।
चार मृतक र दर्जनौँ घाइतेको विवरण केही समयका लागि तथ्यांकबाट हटाइएको थियो।
त्यतिबेला रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत संख्या घट्नुलाई प्राविधिक समस्या भनेको थियो।
पछि मृतकको संख्या पुनः १८ कायम गरिएको थियो।