बाराको जितपुरसिमरा उपमहानरपालिका–१ दसधुरीकी ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको विरोधमा बिहीबार तुलसीपुरमा प्रदर्शन भएको छ।
ज्ञानज्योति लगायत तुलसीपुर क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले गरिमाको न्यायको माग गर्दै प्रदर्शन गरेका हुन्।
उच्च अदालतदेखि सुरू भएको प्रदर्शन बजार परिक्रमा गर्दै वीरेन्द्र चोकसम्म पुगेको थियो। प्रदर्शनकारीहरूले हत्यामा संलग्नहरूलाई फाँसी लगायतका माग गरेका थिए।
गरिमाको बलात्कार र हत्याको विषयमा देशका विभिन्न स्थानामा प्रदर्शनहरू हुन थालेका छन्। बारामा पनि प्रदर्शन जारी छ।
साउन ३१ गतेदेखि हराइरहेकी गरिमाको शव जितपुर सिमरा–१ भक्तिनगरस्थित वीरबहादुर रोक्काको खाली घरको एउटा कोठामा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिएका थिए।
बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले जितपुरसिमरा–२ का १६ वर्षीय एक किशोर सहित दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा जबरजस्तीकरणीपछि गरिमाको हत्या भएको खुलेको छ।
छिमेकीको घरमा खेल्न गएकी गरिमालाई चकलेट किनेर दिने भन्दै ती किशोरले ललाइफकाइ गरी रित्तो घरमा पुर्याएर बलात्कारपछि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
गरिमाको शव भेटिएको २ घन्टापछि उनको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरिएको एसपी कुँवरले बताएका थिए।