नुवाकोट विदुर नगरपालिका-१ को त्रिशूली बजारमा बाढी पसेको छ।
बुधबार बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएपछि बजारमा पसेको हो।
त्रिशूली नदीमा आएको बाढी बजार क्षेत्र र आसपासका बस्तीमा पस्दा ढोकेढुङ्गा, अकरे, टोलेगाउँ लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले जानकारी दिए।
उनका अनुसार बाढीले व्यापारिक पसल, भौतिक संरचना र सडक क्षेत्रमा क्षति पुर्याएको छ। बजार क्षेत्र तथा त्रिशूली चोक आसपासका घरहरूमा बाढी पसेर लेदो र पानी भरिएको छ।
'बाढीका कारण भएको मानवीय तथा कुल भौतिक क्षतिको यकिन विवरण भने आउन बाँकी छ,' उनले भनिन्, 'क्षेत्रगत रूपमा टोलीहरू खटिएर रिपोर्टहरू आउन बाँकी छ।'
स्थानीयलाई उद्धार गर्न प्रहरी, सशस्त्र प्रहरी, सेनासँगै स्थानीयपनि खटिएको उनले बताइन्।