रसुवाको बाढी प्रभावित क्षेत्रबाट ४४ जना सैनिक पनि सम्पर्कबिहीन छन्।
बुधबार बिहान अन्दाजी ९ बजेतिर आएको भीषण बाढी पछि ४४ जना सैनिक सम्पर्कमा नरहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
रसुवाका विभिन्न ठाउँमा खटिएका सैनिकहरू सम्पर्कबिहीन भएको उनले बताए।
सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका पनि ४१ जना सम्पर्कबिहीन छन्। उनीहरूको खोजीका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
हेलिकप्टर पनि परिचालन गरी उद्धार तथा खोजीको कार्य जारी छ।
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार भएको छ। नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ। निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्।
नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा पाँच जना, बेत्रावतीमा चार जना, त्रिशूली–काठमाडौँमा तीन जनाको उद्धार गरेको हो।