बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा निर्माणस्थलमा कार्यरत कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्कलन गरेको प्रारम्भिक विवरण अनुसार २२३ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका हुन्।
त्रिशूली जलविद्युत् कम्पनीअन्तर्गत निर्माणाधीन त्रिशूली–३ ‘बी’को साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कबाहिर रहेको विवरणमा उल्लेख छ।
त्यस्तै, चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्रमा रहेका १ जना सम्पर्कविहीन भएका छन्। चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत चेर्कु कम्पनीमा कार्यरत रही त्रिशूली–३ ‘बी’को निर्माणाधीन साइटमा खटिएका ११ जना पनि सम्पर्कबाहिर रहेको उल्लेख छ।
रसुवागढी जलविद्युत् केन्द्रमा ९२ जना सम्पर्कमा नरहेको विवरणमा जनाइएको छ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४४ जना कर्मचारी तथा कामदारसमेत सम्पर्कविहीन भएका छन्।
प्राधिकरणका त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत १/१ जना कर्मचारी समेत सम्पर्कबाहिर रहेको विवरणमा उल्लेख छ।
रसुवा वितरण केन्द्रमा रहेका चिलिमे पावर हाउसको स्विचयार्डमा कार्यरत १ जना तथा गोसाइँकुण्डी मिटर रिडर पनि सम्पर्कमा नरहेको जनाइएको छ।
त्यसैगरी, त्रिशूली–२२० केभी ३ ‘बी’ हबमा कन्ट्र्याक्टरतर्फबाट कार्यरत १६ जना र रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न कन्ट्र्याक्टरमार्फत मर्मत सम्भार तथा निर्माणमा खटिएका २९ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।