रसुवाको भोटेकोशी आएको बाढीका कारण धादिङको बैरेनी लगायत स्थानमा सडक अवरूद्ध भएपछि नारायणगढ हुँदै काठमाडौं जाने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सूचना जारी गर्दै सडकको अवरोध हटाउन समय लाग्ने भएकाले आवागमन रोकिएको जनाएको हो।
'सडकको अवस्था सामान्य नहुन्जेल तथा अर्को सूचना जारी नभएसम्म नारायणगढ हुँदै काठमाडौं जाने सबै प्रकृतिका सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ,' सूचनामा भनिएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढी त्रिशूली नदीमा मिसिएपछि तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ।
बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राखेर सवारी आवागमन रोकिएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनले बाढी र पहिरोको जोखिम पूर्ण रूपमा निवारण भइनसकेको भन्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
प्रशासनले बाढी, पहिरो तथा सवारी आवागमनसम्बन्धी कुनै सूचना, जानकारी वा समस्या परेमा सम्बन्धित निकायमा सम्पर्क गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।
धादिङ प्रशासनले पनि राजमार्गमा अहिले सवारी साधन आवागमन रोकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन्।
