रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका ९ वटा शव तनहुँमा फेला परेका छन्।
तीमध्ये केही शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवा बाढीले बगाएर ल्याएका नौ वटा शव भेटिएका छन्।
बाढीबाट तनहुँमा अन्य क्षति भएको विवरण भने हालसम्म प्राप्त नभएको उनले जानकारी दिए।
आँबुखैरेनी–४ पुलजीपदेखि देवघाटसम्मको त्रिशूली नदी क्षेत्रका विभिन्न स्थानमा शव फेला परेको तिवारीले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार नदीमा फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेका छन्।
फेला परेका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि भरतपुर पठाइने उनले बताए।
आँबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढाइएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार जिल्लामा उपलब्ध सबै स्रोतसाधनसहित सम्बन्धित सबै टोलीलाई ‘अलर्ट’ अवस्थामा राखिएको छ।
सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सुरक्षा निकाय तथा सम्बन्धित टोलीलाई तयारी अवस्थामा राखिएको र आवश्यकताअनुसार थप जनशक्ति तथा स्रोतसाधन परिचालन गरिने उनले बताए।
यसैबीच, भानुबाट टिमुरेतर्फ गएको चालकसहित तीन जना सम्पर्कविहीन रहेको सूचना प्राप्त भएको प्रजिअ तिवारीले बताए।
उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको र खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको उनको भनाइ छ।