बाढी पूर्वानुमान महाशाखाले थप ठूलो बाढी आउने विश्वसनीय आधार नदेखिएको जनाएको छ।
बुधबार महाशाखा आफैले चिनियाँ पक्षबाट प्राप्त सूचना भन्दै थुनिएको नदीको बाँध फुट्दा बाढी आएको र थुनिएको ठाउँमा अझै केही भाग खुल्न बाँकी रहेकाले भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायम रहेको भनेको थियो।
'चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ,' महाशाखाले साढे १ बजे फेसबुकमा लेखेको थियो।
बिहीबार बिहान महाशाखाले अर्को सूचना जारी गर्दै जोखिम कायमै रहेको र अझै ठूलो बाढी आउनेमा कुनै आधार नदेखिएको जनाएको हो।
'यस सम्बन्धमा हालसम्म प्राप्त सूचना तथा प्रारम्भिक विश्लेषणअनुसार, उक्त क्षेत्रमा वर्षा भइरहेको कारण नदीको बहाव केही बढ्न सक्ने देखिए पनि हालसम्म थप ठूलो बाढी आउने कुनै विश्वसनीय सूचना प्राप्त भएको छैन,' महाशाखाले भनेको छ।
त्यसकारण अपुष्ट सूचना र हल्लाको पछि नलाग्न पनि महाशाखाले अनरोध गरेको छ।
'हाललाई थप ठूलो बाढी आउने सम्भावना नरहेको हुँदा अनावश्यक रूपमा नआत्तिनुहुन तथा संयमित रहनुहुन हार्दिक अनुरोध गर्दछौं,' सूचनामा भनिएको छ।
साथै, आगामी समयमा नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी एसएमएस लगायत उपलब्ध विभिन्न सञ्चार माध्यमबाट यथाशीघ्र आधिकारिक सूचना तथा पूर्वसूचना सम्प्रेषण गरिने महाशाखाले जनाएको छ।