भोटेकोसी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोटलगायत क्षेत्रमा क्षति भएपछि भन्सार विभागले प्रभावित कर्मचारी, व्यवसायी तथा चालकका लागि नम्बर सहित फोकल पर्सन तोकेको छ।
विभागले बिहीबार सूचना जारी गर्दै सम्पर्कविहीन वा घाइते भन्सार कर्मचारी तथा उनीहरूका परिवारलाई उद्धार र आवश्यक सहयोगका लागि तोकिएका अधिकारीसँग सम्पर्क गर्न आग्रह गरेको हो।
भन्सार कर्मचारीका परिवारजनले शाखा अधिकृत कुमार घिमिरे (९८४९३६४५४८), भरतमणि सापकोटा (९८४९६४५४३०) र शिवराज बोहोरा (९८६९९३३२०२) लाई सम्पर्क गर्न सक्नेछन्।
त्यस्तै, नाकातर्फ आउँदै गर्दा बाटोमा सम्पर्कविहीन भएका व्यवसायी, मालवाहक सवारीका चालक तथा सहचालक वा उनीहरूका परिवारका लागि शाखा अधिकृत रमेश सुकुमनी (९८५१११९२०६) र युजिन चापागाईं (९८४२१४९६६७) लाई फोकल पर्सन तोकिएको छ।
रसुवागढी, तातोपानीलगायत नाकाबाट आउने मालवाहक सवारी तथा व्यवसायीलाई हालको परिस्थितिलाई मध्यनजर गर्दै सम्भव भएसम्म मुस्ताङस्थित कोरला नाका प्रयोग गर्न विभागले आग्रह गरेको छ।
कोरला नाका प्रयोग, वैकल्पिक मार्ग, भन्सार प्रक्रिया तथा व्यापार सहजीकरणका लागि शाखा अधिकृत नवराज चौलागाईं (९८१३६४६४९४) र प्रतिभा कोइराला (९८४९१०७९५३०) लाई सम्पर्क गर्न सकिने विभागले जनाएको छ।
विभागले बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लाका सर्वसाधारण, भन्सार कर्मचारी तथा परिवार, व्यवसायी, मालवाहक सवारीका चालक तथा सहचालक प्रभावित भएको जनाएको छ। व्यापारिक मालवस्तु, ढुवानीका साधन तथा भौतिक संरचनामा समेत क्षति पुगेको विभागले जनाएको छ।