भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ सहयोग गरेका छन्।
उद्योगी राउतले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत रूपमा रकम उपलब्ध गराएको उनले बताएका छन्।
‘विपद्को यो दुःखद् घडीमा प्रभावित नागरिकलाई सकेको सहयोग गर्नु हाम्रो दायित्व हो,’ राउतले भने, ‘उद्धार, उपचार र राहतका लागि यो सहयोगले केही भए पनि योगदान पुर्याउने विश्वास छ।’
राउतको व्यक्तिगत सहयोगको जानकारी दिँदै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कोशीका उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थालाई पनि विपद्मा परेका नागरिकको सहयोगका लागि अघि बढ्न आग्रह गरेको छ।