बुधबार बिहान त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिका अतिप्रभावित बनेको छ। बाढीले अन्य जिल्लासँग जोड्ने पुलहरू बगाएपछि सडक सम्पर्क विच्छेद हुँदा सवारी साधनमार्फत राहत र उद्धार सामग्री पुर्याउन सकिएको छैन।
यसबीच गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरूङले ठूलो संख्यामा स्थानीयहरू उद्धारको पर्खाइमा रहेकाले तत्काल उद्धारका लागि हेलिकप्टर संख्या बढाउन सरकारसँग आग्रह गरेकी छन्।
बुधबार बिहान रसुवाको भोटेकोशीबाट आएको बाढी नुवाकोट, धादिङ, चितवन लगायत क्षेत्रसम्म पुगेको थियो।
अहिलेसम्म उत्तरगया पालिकाले ७०० भन्दा बढी स्थानीयको उद्धार गरी होल्डिङ सेन्टरहरूमा राखेको उपाध्यक्ष गुरूङले जानकारी दिइन्। उनीहरूको खाने र बस्ने व्यवस्था पालिका स्वयंले मिलाइरहेको उनले बताइन्।
'उद्धार गरिएकाहरूलाई उत्तरगयास्थित नीलकण्ठ मावि र शिवालय आधारभूत विद्यालयमा राखिएको छ। दुई ठाउँमा गरी करिब ७०० जना हुनुहुन्छ,' उपाध्यक्ष गुरुङले भनिन्, 'अन्य विस्थापितहरू पनि निरन्तर जोडिने क्रम जारी छ। उहाँहरूका लागि पालिकाले नै खाना र बासको व्यवस्थापन गरिरहेको छ।'
उनका अनुसार विशेष गरी वडा नम्बर १, २ र ३ बाट उद्धारका लागि निरन्तर फोन तथा सन्देशहरू आइरहेका छन्। सरकारले हेलिकप्टर पठाए पनि त्यो आवश्यकताभन्दा निकै कम भएको उनको भनाइ छ।
'धेरै ठाउँमा घाइतेहरू उद्धारको पर्खाइमा हुनुहुन्छ। हेलिकप्टर आउन त आएको छ, तर पर्याप्त छैन,' उनले थपिन्, 'सञ्चार र सडक सम्पर्क विच्छेद भएकाले प्रदेश र संघ सरकारसँग प्रभावकारी समन्वय तथा सहयोग प्राप्त गर्न कठिन भइरहेको छ। बाटो नहुँदा केन्द्रबाट समयमै राहत पुग्न नसकेको हो।'
उपाध्यक्ष गुरुङका अनुसार बाढीका कारण बेपत्ता हुनेहरूको यकिन तथ्यांक अझै आउन सकेको छैन।
'एउटै बस्तीका कम्तिमा ३०० जनासम्म सम्पर्कविहीन हुनसक्ने अनुमान छ। बिजुली र टेलिफोन सेवा ठप्प भएकाले यकिन विवरण संकलन गर्न सकिएको छैन,' उनले भनिन्।
काठमाडौं र चितवनसम्म बाढीको असर: मृत्यु हुनेको संख्या २७० पुग्यो
भोटेकोशीको बाढी रसुवा हुँदै नुवाकोट, धादिङ र चितवनसम्म पुगेर भीषण क्षति पुर्याएको छ। नेपाल प्रहरीका अनुसार हालसम्म २७० जनाको शव फेला परेको छ। रसुवाबाट बगाएका अधिकांश शवहरू तल्लो तटीय क्षेत्रमा भेटिएका छन्।
यसमध्ये चितवनमा मात्रै १०८ जना र नवलपरासी (पूर्व) मा ६२ जनाको शव फेला परेको छ। कयौं मानिस अझै बेपत्ता रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
घटनामा घाइते भएका ६६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस अनुसार काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा २६, राष्ट्रिय ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, सैनिक अस्पतालमा १, नर्भिक अस्पतालमा २ र मनमोहन अस्पतालमा १ जना उपचाररत छन्। उपचारपछि १४ जना डिस्चार्ज भइसकेका छन्।
हाल बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
उद्धार कार्यमा नेपाली सेनाका साथै निजी कम्पनीका हेलिकप्टरहरू समेत प्रयोग भइरहेका छन्।