अमेरिकी गुप्तचर संस्था सिआईएका प्रमुख जोन र्याटक्लिफले रूस भ्रमण गरेर नेटो सदस्य राष्ट्रहरूमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्।
र्याटक्लिफले मंगलबार सुटुक्कै मस्को भ्रमण गरे भनेर विभिन्न अमेरिकी मिडियाले विमान ट्र्याकिङ गरेर समाचार लेखेका छन्।
अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी नेतृत्वको नेटोका सदस्य राष्ट्रमा आक्रमण नगर्न चेतावनी दिन र्याटक्लिफ मस्को गएका थिए।
आगामी समयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोका सदस्य राष्ट्रहरूमा आक्रमण गरेर नेटोको संकल्पको परीक्षण गर्न सक्ने नयाँ अमेरिकी गुप्तचर मूल्याङ्कन रहेको जर्नलले जनाएको छ।
त्यसैले त्यस्तो नगर्न रूस गएर र्याटक्लिफले चेतावनी दिएका हुन्।
र्याटक्लिफले मस्कोमा रूसी गुप्तचर अधिकारीहरूसँग वार्ता गरेको तर पुटिनसँग भेट नगरेको रूसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार पत्रकारहरूलाई बताए। पेस्कोभका अनुसार पुटिनलाई ती वार्ताबारे जानकारी भने गराइएको थियो।
युक्रेनसँगको युद्धमा अप्ठ्यारोमा परेको र स्वदेशमै पनि दबाबमा परेका पुटिनले साइबर आक्रमणदेखि कुनै बाल्टिक राष्ट्रमा साना खाले भू-आक्रमणसम्म गर्न सक्ने भन्दै अमेरिकी अधिकारीहरू चिन्तित छन्।
युक्रेनलाई रूसबाट जोगाउन हतियार दिएको र इरानसँगको जारी युद्धमा अमेरिकाको धेरै हतियार र युद्ध सामग्रीको खर्च भएकाले नेटो राष्ट्रको बचाउ गर्न अमेरिका आउँछ कि आउँदैन भनेर पुटिनले परीक्षण गर्ने खोज्ने अमेरिकी मूल्याङ्कन छ।
अमेरिकी गुप्तचर संस्थाका प्रमुखको रूस भ्रमण दुर्लभ मानिन्छ। यसअघि तत्कालिन सीआईए प्रमुख विलियम बर्न्सले २०२१ नोभेम्बरमा मस्को गएर पुटिनलाई युक्रेनमाथि आक्रमण नगर्न चेतावनी दिएका थिए। तर पुटिनले सो चेतावनीको बेवास्ता गर्दै २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)