त्रिशूली बाढीले बगाएर ल्याएका शवबाट गहना चोरी गर्ने दुई जना पक्राउ परेका छन्।
चितवन महानगरपालिका-१ पोखरा बसपार्कबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।
बुधबार बिहान रसुवाबाट आएको बाढीले बगाएर ल्याएकी एक जना महिलाको शवबाट उनीहरूले कानको मुन्द्रा चोरेका थिए। यसरी मुन्द्रा चोर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा आएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नवलपरासीका २५ वर्षीय मदन गुरूङ र सुनसरीका ३८ वर्षीय उमेश चौधरी छन्।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।