रसुवा–त्रिशूली करिडोरमा आएको बाढीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदुरसमेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढीबाट सार्वजनिक सवारीमा पुगेको क्षतिको यकिन विवरण प्राप्त भइनसकेको बताए।
उनकाअनुसार महासंघको आपतकालीन कार्यसमिति बैठकले बाढीबाट क्षति पुगेका सवारीसाधनको विवरण संकलन गर्न केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
सिटौलाकाअनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका २५ वटा बसको अवस्थासमेत अहिलेसम्म अज्ञात छ।
बससहित बसमा सवार यात्री र ५० जना कर्मचारी समेत सम्पर्कविहीन रहेको बताए।
उनले नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारीसाधन र ती सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि कुनै जानकारी प्राप्त हुन नसकेको बताए।
- न्युज एजेन्सी नेपाल