बाढी पूर्वानुमान महाशाखाले शुक्रबार विभिन्न जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने जनाएको छ।
महाशाखाले सूचना जारी गर्दै पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, मवलपरासी पश्चिम, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको हो।
महाशाखाले भोटेकोशी र त्रिशूली नदीको बहाब सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन भनेको छ।
चीन सरकारबाट प्राप्त सूचना, भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार भदौ १०मा बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको महाशाखाले जनाएको छ।
त्यसकारण अर्को सूचना जारी नहाँसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिनुहुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराईका भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान पनि महाशाखाले गरेको छ।