नेपालतर्फ गएको भीषण बाढीमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा बुधबारको प्राकृतिक विपत्तिका कारण नेपाली भूमिमा रहेका आफ्ना नागरिकहरू हराइरहेको जानकारी दिए।
प्रवक्ता लिनकाअनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले यस विषयमा नेपाली पक्षसँग समन्वय गर्दै विस्तृत विवरण संकलन र प्रमाणीकरण गरिरहेको छ।
चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको रिकाजे सहरस्थित केरुङ (जिरोङ) नाका र आसपासका क्षेत्रमा गएको पहिरोले ठूलो मानवीय क्षति पुर्याएको बताइएको छ।
उनले दुवै देशका अधिकारीहरूबीच खोजी तथा उद्धार कार्यका लागि निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गर्दै नेपालको आवश्यकताअनुसार आपतकालीन सहयोग उपलब्ध गराउन चीन तयार रहेको समेत स्पष्ट पारे।
चिनियाँ स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै दिइएको जानकारीअनुसार प्रभावित क्षेत्रहरूमा हालसम्म कुल २ सय ६० जना विदेशी नागरिक सम्पर्कविहीन छन्। यद्यपि, भौगोलिक विकटता र प्रतिकूल अवस्थाका कारण यकिन विवरण प्राप्त हुन बाँकी रहेको र प्रमाणीकरणको कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
चिनियाँ उद्धारकर्ताहरूका लागि सबैको जीवन महत्वपूर्ण रहेको बताउँदै लिनले सम्बन्धित देशका दूतावासहरूलाई समेत पछिल्लो अवस्थाबारे जानकारी गराइरहेको उल्लेख गरे।
यसैबीच, नेपालस्थित चिनियाँ दूतावासले सुरक्षा सतर्कता सम्बन्धी सूचना जारी गरेको छ।
दूतावासले नेपालमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र थप प्राकृतिक जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। साथै, समस्यामा परेका नागरिकहरूलाई दूतावासमा सम्पर्क गर्न समेत सूचित गरिएको छ। (न्युज एजेन्सी नेपाल)