पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहबाहिर बिहीबार बिहान पदम घिमिरे एउटा फोटो बोकेर उभिएका थिए।
फोटोमा उनका सालो, २७ वर्षीय डाक्टर आयुष अधिकारी थिए।
शव गृहबाट आएको दुर्गन्ध अस्पताल परिसर बाहिरसम्म फैलिएको थियो। भित्र बाढीले बगाएर ल्याइएका शव थिए। बाहिर आफन्तहरू आफ्ना प्रियजनको पहिचान हुने आशामा पर्खिरहेका थिए।
पदम बन्दीपुरबाट पोखरा आएका हुन्। काठमाडौंको ग्रान्डी अस्पतालमा कार्यरत आयुष बुधबार बिहानसम्म परिवारको सम्पर्कमा थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका छन्।
आयुष साथीहरूसँग घुम्न गएका थिए। त्यसपछि आएको बाढीले उनलाई बगाएको हुनसक्ने परिवारको आशंका छ।

भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएका १०१ शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएका छन्। तीमध्ये आयुषको शव पनि हुन सक्ने आशामा पदम त्यहाँ पुगेका हुन्।
‘म पोखरामा भएकाले आयुषको शव बुझ्न यहाँ आएको हुँ। अरू आफन्त कोही भरतपुर जानुभएको छ, कोही काठमाडौं,’ उनले भने, ‘बाँडिएर हेर्नुपर्यो।’
आयुषको शव कहाँ पुगेको हो भन्ने यकिन नभएकाले परिवारका सदस्यहरू विभिन्न ठाउँमा खोजी गरिरहेका छन्।
पदमजस्तै भोटेकोशी बाढीपछि आफन्त सम्पर्कविहीन भएका अन्य परिवार पनि शव गृहमा पुग्न थालेका छन्। प्रहरीका अनुसार हालसम्म दुई शवको पहिचान भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले शव पहिचान र पीडितलाई आवश्यक सेवा दिन शव गृहसँगै रहेको प्रयोगशाला भवनमा सेवा केन्द्र सञ्चालन गरेको छ। शव पहिचान भएपछि त्यहीँबाट जाहेरी लेख्ने र शव परिवारलाई बुझाउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

शव पहिचान सहज बनाउन प्रयोगशालाको कोठामा डिस्प्लेमार्फत शवको फोटो र हुलिया देखाउने व्यवस्था गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए।
‘शव बुझ्न आउने पीडितलाई सजिलो होस् भनेर अस्पतालमै सेवा दिएका छौं। शव पहिचान गर्न पनि डिस्प्लेमा शवको फोटो देखाउने र हुलिया बताउने व्यवस्था गरिएको छ,’ उनले भने।
फोटो र हुलिया हेरेर आफन्तले शव पहिचान गरेपछि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए।
पहिचान हुन नसकेका शव केही समय फ्रिजमा राखिने कार्कीले बताए।
अस्पताल प्रशासनका अनुसार शव गृहको क्षमताभन्दा बढी शव राखिएका छन्। पहिचान गर्न सहज होस् भनेर शवहरू धोइपखाली गरेर राखिएको छ।
बिहानैदेखि आयुषको शव खोजिरहेका पदमले भने अहिलेसम्म भेटेका छैनन्।
