रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएकी एक महिलाको शव पहिचान गरी बुटवलबाट आफन्तलाई बुझाइएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार शव पहिचान हुनेमा गोर्खाको पालुङ टारकी २८ वर्षीय शमी कुमाल रहेकी छन्।
उनको शव पूर्वी नवलपरासीको गण्डक बाँधमा फेला पारी लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो। बाढीमा परी बेपत्ता भएकी कुमालको खोजी गरिरहेका आफन्तले शनिबार लुम्बिनी प्रादेशिक अस्पतालमा आई शव पहिचान गरी लिएर गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक श्रीवास्तवका अनुसार शिक्षक रहेकी कुमाल ३०/३५ जना साथीहरू सहित घुम्न गएको समयमा उक्त बाढीमा परेकी थिइन्।
बाटोमा गुडिरहेको बखत आएको बाढीमा परेपछि बस भित्र रहेका ४/५ जनाले हाम फालेर ज्यान जोगाए पनि अरू सबैलाई बाढीले बगाएको थियो।
यस्तै उक्त बाढीमा परी मृत्यु भएका २३ वटा शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएका छन्।
नवलपरासीको गण्डक बाँध, त्रिवेणी लगायतका स्थानमा भेटिएका ती शवहरू लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक श्रीवास्तले जानकारी दिए।
बुटवलमा राखिएका मध्ये १८ जनाको शव सग्लो रहे पनि ५ जनाको भने अङ्गभङ्ग भएको अवस्थामा रहेको उनले बताए। त्यस्तै भैरहवास्थित भीम अस्पतालमा पनि ३ वटा शव राखिएका छन्।