बेलकोटगढीको पाँचखलेबाट तल बगिरहेको त्रिशूली देखाउँदै अर्जुनप्रसाद दाहालले भने, ‘त्यहाँनेर मेरो ८ रोपनी खेत थियो। वार्षिक ७० मुरी धान फल्थ्यो। हिउँदमा तरकारी लगाउँथेँ। तीन लाखसम्मको तरकारी बेच्थेँ। अहिले खोला बगिरहेको छ।’
त्रिशूली किनारमा रहेको सिमखेतमा उनको सहित १३० रोपनीको प्लट थियो। त्यसमध्ये मुस्किलले ३० रोपनीसम्म बचेको हुन सक्ने उनको अनुमान छ।
गल्छी–रसुवागढी सडकखण्डको काशीटारमा सडकसँगै जोडिएको पक्की तीनतले घर थियो। पक्की घरमाथि अर्को पुरानो घर पनि थियो।
बाढी आउनुअघि घर वरिपरि खोला थिएन। घरबाट सडक, त्यसपछि करिब दुई रोपनी जग्गा पार गरेपछि मात्रै खोला पुग्थ्यो। तर अहिले खोलाले धार बदलेर सडक हुँदै घरनजिकै आइपुगेको छ।
‘मैले यो घर २०६९ सालमा बनाएको हो। भूकम्पमा समेत यो घर जोगिएको थियो। तर भोटेकोशीमा आएको बाढीले घरलाई एकाएक क्षतविक्षत बनाइदियो,’ उनले भने, ‘हामी खाना खाएर सकेका मात्रै थियौँ। खोला यसरी आयो कि पर ठोक्किएर फेरि फर्कियो। त्यो छालले त आधा किलोमिटर अगाडिसम्म हानेको थियो जस्तो लाग्छ।’
घर ढलेको छैन, ठाडै छ। तर बाढीले घरको माथिल्लो तलासम्म क्षति पुर्याएको छ। घरमा राखिएका धान, मकैजस्ता खाद्यान्नलगायत मोटरसाइकल, स्कुटर र पसलका सामान सबै बाढीले बगाएको दाहाल बताउँछन्।
धान, मकै लगायतका खाद्य सामग्री दोस्रो तलामा राखिएको थियो। तर बाढीले घरभित्र भएका सबैजसो सामान नष्ट गरिदियो। ट्र्याक्टर र पानी तान्ने पम्पसमेत बाढीले लगेको उनले बताए। पहिलो तलामा भने बाढीले पुरेको छ।
‘अहिले हेर्दा खोला नजिकै जस्तो देखिन्छ, तर खोला यता थिएन,’ उनले भने, ‘सडक, दुई रोपनी जग्गा अनि बल्ल खोला थियो। धार बदलेर खोला घरनजिकै आइदियो।’
बाढीका कारण दाहालको परिवार अहिले बासविहीन बनेको छ। बुढाबुढी, छोराबुहारी र नातिनातिनासहित १३ जना परिवारका सदस्य कहिले आफन्तको घरमा त कहिले अरूको घरमा बसेर दिन कटाइरहेका थिए। एउटा संस्थाले दिएको ठाउँमा समेत केही समय बसेको परिवारलाई पछि संस्था सञ्चालन गर्नुपर्ने भन्दै खाली गर्न भनिएको उनले बताए। त्यसपछि उनीहरू जोखिम मोलेर आफ्नै घरमा फर्किएका हुन्।
-1789381746.png)

‘हामी यही घरमा जे पर्छ पर्छ भनेर बस्यौँ। बाढीले लैजाने जति लगिहाल्यो, अब बाँचिए बाँचिएला, जे होला भनेर बस्यौँ,’ दाहालले भने, ‘बस्न मिल्ने, नमिल्ने त कसरी थाहा पाउने? तर उपाय नभएपछि के गर्ने? यस्तो घरमा बस्न बाध्यताले आँट आयो। फेरि आउँछ, ताल फुट्छ भन्छन्, के–के हो के–के।’
पहिले खान, लगाउन र बस्न कुनै समस्या नभएको बताउने दाहाल अहिले भने सबैभन्दा ठूलो समस्या बासकै रहेको बताउँछन्। राहतबाट खाना पाइरहेको भए पनि स्थायी र अस्थायी बसोबासका लागि राज्यले के व्यवस्था गर्छ भन्ने उनको प्रतीक्षा छ।
‘पहिला त बासकै व्यवस्था चाहियो। गास त राज्यले सधैँ नसक्ला। अहिले हामीलाई बासकै हो। अस्थायी र स्थायीका लागि राज्यले के भन्छ भन्ने हो,’ उनले भने, ‘अब त बुढो पनि भइयो। छोराहरूले के गर्छन् भन्ने लागिरहेको छ। भएको सकिहाल्यो।’
बाढीले घर पुरेपछि काशीटारकै हीरामाया चित्रकारले घरभित्रको एउटा चम्चासम्म निकाल्न पाइनन्। अन्नको नाममा एउटा दाना पनि जोगाउन नसकेको उनको भनाइ छ। घरमा रहेका १४ वटा बाख्रा र १५–२० वटा कुखुरासमेत बाढीले बगाएको छ।


चित्रकारले भनिन्, ‘१४ वटा बाख्रा थिए, एउटासमेत जोगाउन सकिएन। १५–२० वटा कुखुरा थिए, केही जोगाउन सकिएन।’
बाढीले उनको गरेर खाने खेतसमेत डुबाएको छ। घर भएको ठाउँमा रहेको एक रोपनी जग्गामध्ये चार आना बाहेक सबै डुबेको उनले बताइन्।
बाढी आएको दिन उनका नातिनातिना स्कुल गएका थिए भने उनी आयुर्वेद अस्पताल गएकी थिइन्। बल्लतल्ल पठाओ खोजेर उनी साँझमा घर आइपुगेकी थिइन्। त्यस दिन फोन सम्पर्कसमेत हुन नसक्दा घरका मानिसको अवस्था थाहा पाउन नसकेको उनले बताइन्।
‘यताको जिउँदो छ कि छैन, घरका मान्छे के भयो पनि थाहा भएन। रुवाबासी नै भयो,’ उनले भनिन्, ‘सडकको तल र माथि घर थियो। माथि हामी बस्थ्यौँ भने रोड तलको घरमा राखनधरन र बाख्रा अनि कुखुरा थिए।’
बाढीपछि दुवै घरमा केही बाँकी रहेन। घरबाट निस्कँदा लगाएको कपडामात्र लिएर हिँड्नुपरेको उनले बताइन्।
चित्रकारका तीन छोरीको बिहे भइसकेको छ भने छोरा रोमानियामा छन्। अहिले उनको परिवार होल्डिङ सेन्टरमा बसिरहेको छ। नातिनातिना भने आफन्तसँग काठमाडौं आएका छन्।
घरमा हुँदा कसैसँग मागेर खानुपर्ने अवस्था नरहेको भए पनि अहिले अरूले माया गरेर दिएको सामग्री हात थापेर खानुपर्ने अवस्था आएको उनको भनाइ छ।
‘कसैसँग मागेर खान परेको थिएन। अहिले हात थापेर खान परेको छ,’ उनले भनिन्, ‘लुगाफाटो, भाडाकुडा, खानेकुरा सबै हात थापेर खाइएको छ। हामीलाई ढुक्कले खान पुग्थ्यो।’
अहिले उनीसँग करिब आधा रोपनी जग्गा बचेको छ। त्यो पुरिएको घरभन्दा करिब दुई सय मिटर माथि रहेको उनले बताइन्। तत्कालका लागि भने दुई–तीन महिना पुग्ने खाने सामग्री र भाडाकुडा रहेको उनको भनाइ छ।
अब उनको मुख्य चिन्ता पनि घर कसरी बनाउने भन्नेमा छ।
‘अब घर कसरी बनाउने हो। घर बनाउने राहत पाइयो भने हुन्थ्यो भन्ने लागेको छ,’ चित्रकारले भनिन्।
***
सबै तस्बिरहरूः सन्जिब बगाले/सेतोपाटी।