बेलायतका राजा चार्ल्स तृतीयले तीव्र गतिमा भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) को विकासबाट उत्पन्न जोखिमबारे छलफल गर्न यसै साता एआई क्षेत्रका प्रमुख कम्पनीका प्रतिनिधिसँग भेटवार्ता गर्ने भएका छन्।
बकिंघम दरबारका अनुसार चार्ल्सले स्कटल्यान्डमा एनभिडिया, गुगल, डिपमाइन्ड, ओपनएआई र एन्थ्रोपिकलगायत एआई कम्पनीका प्रमखुसहित प्रतिनिधि, सरकारी अधिकारी तथा अन्य सरोकारवालासँग छलफल गर्नेछन्।
स्कटल्यान्डको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने आयरशायरस्थित डम्फ्रिज हाउसमा हुने बैठकमा एआईलाई समाजका लागि लाभदायक हुने गरी कसरी विकास र प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।
एआईको विकास अत्यन्त तीव्र गतिमा भइरहेकाले यसलाई सुरक्षित र नियन्त्रित ढंगले अघि बढाउनुपर्ने आवाज बढिरहेका बेला चार्ल्सले यस्तो बैठक बोलाएका हुन्।
एआई क्षेत्रकै केही प्रमुख कम्पनीका प्रमुख तथा विज्ञहरूले पनि मानिसले प्रविधिको विकास र त्यसबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न नसक्ने अवस्था आउन सक्ने भन्दै साझा सुरक्षा मापदण्ड र विकासको गति केही सुस्त बनाउनुपर्ने बताएका छन्।
बैठकमा एआईलाई समुदाय बलियो बनाउन र मानिसको जीवन सुधार्न कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने बकिङ्घम दरबारले जनाएको छ।
दरबारले सहभागी हुने कम्पनीका प्रतिनिधिको नाम भने सार्वजनिक गरेको छैन। ओपनएआईले आफ्ना प्रमुख वित्तीय अधिकारी सारा फ्रायर सहभागी हुने जनाएको छ।
एआईको तीव्र विकासबारे पछिल्लो चिन्ता यसै गर्मीयाममा एआई पूर्वाधार कम्पनी हगिङ फेसमाथि भएको साइबर आक्रमणपछि थप चर्किएको हो।
ओपनएआईले निर्माण गरेका एआई एजेन्टको समूहले हगिङ फेसका प्रणालीमा प्रवेश गरी डेटा चोरी गर्नुका साथै एउटा सर्भरमा नियन्त्रण हासिल गरेको र आफ्नो गतिविधिका प्रमाण लुकाउने प्रयास गरेको थियो। त्यसको केही समयपछि ओपनएआईभित्रै यस्तै अर्को घटना भएको थियो।
यी घटनाले एआई प्रणाली मानिसको नियन्त्रणबाट कति छिटो बाहिर जान सक्छ भन्नेबारे चिन्ता बढाएको छ।
एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले शनिबार सार्वजनिक गरेको लामो लेखमा एआईको विकासको गति सुस्त बनाउनुपर्ने धारणा राखेका छन्।
उनले अहिलेका एआई मोडलले नै अर्को पुस्ताका एआई उपकरण निर्माण गर्न सक्ने क्षमतातर्फ अघि बढिरहेको भन्दै यसलाई ‘पुनरावर्ती आत्म–सुधार’ को प्रक्रिया भनेका छन्।
यस्तो विकासलाई नियन्त्रणविना अघि बढ्न दिइए यसले मानिसको प्रणाली बुझ्ने र नियन्त्रण गर्ने क्षमताभन्दा तीव्र गतिमा अघि बढ्न सक्ने उनको चेतावनी छ।
अमोडेईको प्रस्तावलाई ओपनएआईका प्रमुख साम अल्टम्यान र एक्सएआईका प्रमुख इलन मस्कसहित एआई क्षेत्रका अन्य प्रमुखले पनि समर्थन गरेका छन्।
अमोडेईले एआई कम्पनी र विश्वभरका नियामक निकायबीच सहकार्य गरेर सुरक्षित विकासको साझा मापदण्ड बनाउनुपर्ने प्रस्ताव गरेका छन्। उनले एआई कम्पनीमा तेस्रो पक्षका मूल्यांकनकर्तालाई राखेर विकासको निगरानी गर्ने, घटना भए त्यसबारे जानकारी दिने तथा लोकतान्त्रिक मुलुकका कम्पनीबीच साझा सुरक्षा मापदण्ड बनाउने प्रस्ताव अघि सारेका छन्।
राजा चार्ल्ससँगको बैठक बेलायतको गैरनाफामूलक संस्था डिच्ले फाउन्डेसनले सहजीकरण गर्नेछ। बैठकमा बेलायतका एआई मन्त्री कनिष्का नारायणसहित राजासँग सम्बन्धित विभिन्न परोपकारी संस्थाका प्रतिनिधिसमेत सहभागी हुनेछन्।