कपिलवस्तुको बाणगङ्गा नदीमा आएको बाढीमा बेपत्ता भएका बालकको शव भारतमा फेला परेको छ।
बाणगङ्गा नगरपालिका नं. ८ का १० वर्षीय बुद्ध लामा पौडी खेल्न भन्दै बाणगङ्गा नदीमा गएको बेला अचानक बाढी आएपछि शनिबार दिउँसोदेखि बेपत्ता भएका थिए।
उनीसँगै गएका १६ वर्षीय रिदम लामालाई भने प्रहरीले शनिबार साँझ बाढीको बिचमा रहेको टापुबाट सकुशल उद्धार गरेको थियो। बाढीमा बेपत्ता भएका बुद्धको शव भने आइतबार नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बगुलहवा खोलामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार खोला किनारमा बालकको शव फेला परेको जानकारी प्राप्त भएपछि भारतीय प्रहरीले पठाएको फोटो र भिडियोको आधारमा बालकका आफन्तले शव पहिचान गरेका थिए।
भेटिएको शव बुद्धको भएको पुष्टि भएपछि बालकका आफन्त र नेपाल प्रहरीको टोली भारत पुगी भारतीय प्रहरीको समन्वयमा शव कपिलवस्तु ल्याएको हो।
बालकहरू शनिवार दिउसो पौडी खेल्न भन्दै बाणगङ्गा नगरपालिका वडा नं. ४ मायादेवी रङ्गशालाको पूर्वतर्फ करिब एक किलोमिटर दक्षिण बाणगङ्गा नदीमा गएका थिए।
त्यही बेला माथिबाट अचानक नदीमा बाढी आएपछि उनीहरू नदीको बिचमा रहेको टापुमा फसेका थिए।
बालकहरू टापुमा फसेको जानकारी पाएपछि घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय पिपराको टोलीले रिदमलाई सकुशल उद्धार गरे पनि बुद्ध भने फेला परेका थिएनन्।