धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्गको काठमाडौं–मुग्लिन सडक अवरुद्ध छ।
मुख्य राजमार्ग अवरुद्ध भएपछि अहिले काठमाडौं उपत्यका र हेटौंडाबीच आवतजावतका लागि कान्ति लोकपथ महत्वपूर्ण वैकल्पिक मार्ग बनेको छ।
पृथ्वी राजमार्गको वैकल्पिक ट्र्याक खुले पनि यातायात सहज हुन अझै समय लाग्ने देखिएपछि कान्ति लोकपथमा सवारीको चाप ह्वात्तै बढेको छ।
हेटौंडाबाट मालवाहक र यात्रुवाहक सवारी त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने र काठमाडौंबाट खाली मालवाहक सवारी कान्ति लोकपथ हुँदै हेटौंडा जाने व्यवस्था गरिएको छ।
बाढीअघि दैनिक एक सयको हाराहारीमा सवारी गुड्ने यो सडकमा अहिले एक दिनमै एक हजारदेखि १ हजार ५०० सम्म सवारी गुडिरहेका छन्।
१२, १४ र १६ चक्के मालवाहक सवारीको चाप पनि बढेको छ। सडक आयोजनाका अनुसार दैनिक २ हजार ५०० देखि ३ हजारसम्म ठूला मालवाहक सवारी गुड्ने अवस्था बनेको छ।
तर कान्ति लोकपथको यात्रा सहज छैन।
ललितपुरको गोदावरी नगरपालिका–६ टीकाभैरवदेखि मकवानपुरको भीमफेदीसम्मको सडकमा विभिन्न ठाउँमा पहिरो, साँघुरो बाटो र एकतर्फी ट्र्याकका कारण सवारी रोकिने र जाममा पर्ने गरेका छन्।
भालुखोला, कार्कीबास, छपेली नजिकको काल्चे, टाकुर्से, पाङ्दुर र भान्सेखोलालगायतका ठाउँ मुख्य अवरोधका रूपमा छन्।
भान्सेखोलामा एकतर्फी ट्र्याक भएकाले ठूला सवारीलाई केही समय लाइनमा बस्नुपर्ने अवस्था छ।
पाङ्दुरमा करिब ८०० मिटर सडक पार गर्न २५ मिनेटदेखि आधा घण्टासम्म लाग्छ।
बागमती गाउँपालिकाको तामाखानीमा चट्टान काट्ने काम जारी छ। करिब ६५ मिटर सडक खण्डमा काम भइरहेकाले सवारीसाधनले छोटो दूरी पार गर्न पनि केही समय कुर्नुपर्ने अवस्था छ।
नियमित पहिरो जाने क्षेत्रबाहेक सडकको अवस्था धेरै खराब नभए पनि साँघुरो र निर्माणाधीन भएकाले ठूला बस तथा मालवाहक सवारी एकैपटक चलाउन समस्या हुने गरेको छ।
सवारी चाप बढेपछि सडकमा २४ घण्टा ट्राफिक व्यवस्थापन गरिएको छ।
टीकाभैरव र भट्टेडाँडामा सडक अवरोध तत्काल हटाउन हेभिइक्युपमेन्ट तयारी अवस्थामा राखिएको छ भने टाखेल, ट्याक्सी पार्क, ढोलाहिटी, टीकाभैरव फूलबारी, टीकाभैरव बजार, तीनपाने र भट्टेडाँडालगायतका क्षेत्रमा ट्राफिक प्रहरी परिचालन गरिएको छ।
ललितपुर र मकवानपुर जोड्ने ८९ किलोमिटर लामो कान्ति लोकपथको ५१ किलोमिटर भाग मकवानपुर र ३८ किलोमिटर ललितपुरमा पर्छ।
अधिकांश भाग कालोपत्र भए पनि पहिरो र पहाड कटानको काम भइरहेका ठाउँसहित करिब चार किलोमिटर सडक अझै कच्ची छ।
करिब सात दशक पुरानो यो सडक २०१३ सालमा निर्माण सुरु भएर २०१४ माघ ९ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए।
२०१६ सालमा पहिरोका कारण सडक खण्ड लामो समय ठप्प भएपछि यसको नियमित विकास र स्तरोन्नति सुस्त भएको थियो।
२०६६ सालदेखि कान्ति लोकपथ आयोजनामार्फत पुनर्निर्माण, विस्तार र स्तरोन्नतिको काम अघि बढेपछि यो काठमाडौं–हेटौंडाबीचको वैकल्पिक मार्गका रूपमा सञ्चालनमा आएको हो।
२०८१ सालको बाढीले बागमती खोलाको पुल बगाएपछि त्यहाँ बेलिब्रिज जडान गरिएको छ।
यसको भारवहन क्षमता र सुरक्षालाई ध्यानमा राख्दै अहिले खाली मालवाहक सवारीलाई मात्र यो सडकबाट सञ्चालन गर्न अनुमति दिइएको छ।
मुख्य राजमार्ग अवरुद्ध हुँदा अहिले यही कान्ति लोकपथले काठमाडौं र हेटौंडाबीचको यातायात धानिरहेको छ।
तस्बिरहरूः
-1789362285.jpg)
-1789362285.jpg)
-1789362285.jpg)
-1789362285.jpg)
-1789362284.jpg)
-1789362284.jpg)
-1789362284.jpg)
-1789362285.jpg)
-1789362285.jpg)
-1789362286.jpg)
-1789362286.jpg)