जाजरकोटको बौलाहा खोलामा गएराति आएको बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
अविरल बर्षापछि बौलाहा खोलाको बाढीले सडक खण्डको केही भाग कटान गर्नुका साथै बगाएपछि गएरातिदेखि नै सडक खण्ड पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो।
जिल्लाको नलगाड नगरपालिका –१ र २ को सीमा क्षेत्रमा पर्ने बौलाहा खोलामा आएको बाढीले स्थानीयका घर टहरा भत्काउनुका साथै स्थानीयको ब्यापार व्यवसायमा पनि क्षति पुर्याएको छ।
जिल्ला प्रवक्ता प्रहरी निरीक्षक सुधिरकुरमा खड्काका अुनसार बाढीले वडा नलगाड – १ बैरीतालमा विभिन्न ८ जनाको घर टहरा पूर्ण रुपमा ध्वस्त हुनुका साथै स्थानीयको व्यापार व्यवसायमा क्षति पुर्याएको छ।
बौलाहा खोलाको बाढीका कारण नलगाड – १ बैरीतालका मानबहादुर विकको तीन कोठे टहरा , बबिता महराको टहरा र किराना पसल, कृष्ण महरको एक कोठे टहरा, मेघराज कुमाईको बोइलर कुखुराको दाना राखेको टहरा, नन्दे महरको कपडा पेल्ने मेसिनसहितको टहरा, बलबहादुर विकको किराना पसल रहेको टहरा , जनक भण्डारीको टहराको फ्रेस हाउस र १०० वटा ब्रोइलर कुखुरासमेत बगाएको छ।
बाढीले स्थानीय दले कामीको टहरामा रहेको किराना पसलमा हिलोसहितको पानी पसेर क्षति पुर्याएको छ। त्यस्तै स्थानीय छवि महरको भे १ ह २६३३ नम्बरको अटोमा हिलोपानी तथा हिरालाल घर्तीको ग १ त ७२७८ नम्बरको ट्रयाक्टर माटोले पुरिएरको हुँदा आंशिक क्षति पुगेको प्रहरी निरीक्षक खड्काले बताए।
साथै बौलाहा खोलाको बाढीले स्थानीय सत्यदेव चनाराको पानीघट्ट पूर्ण रूपमा बगाएर क्षति पुर्याएको प्रहरीले जनाएको छ।