नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ देवीघाटका रामराज वस्ती त्रिशूली बगरमा टोलाइरहेका थिए। बगर माथि कहीँ कतै गाह्रो र पिल्लर समेत उप्किएका घरहरूका अस्थिपञ्जर र गेग्रानले पुरिएका घरका छतहरू देखिन्थे। अधिकांश घरहरू कहाँ थिए भन्ने घरधनीहरूले समेत भेउ पाउन सकेका थिएनन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले देवीघाटमा रहेको रामराजको पनि साढे तीन तलाको घर बगाएको थियो।
रामराज बाढीपछि बगर बनेको आफ्नो घर भएकै ठाउँमा उभिएर टोलाइरहेका थिए।
देवीघाटको झोलुङ्गे पुल नजिकै रामराजको साढे तीन तलाको घर थियो। तर, अहिले उनको घरको कुनै नामनिसान छैन। बाढीले घर बगाएपछि होल्डिङ सेन्टरमा बसिरहेका उनी दिनभरि बगरको छेउमा गएर बिताउँछन्।
होल्डिङ सेन्टरमा बसिरहँदा पनि अत्यास लाग्ने भएपछि दिउँसो बगरमै भए पनि पहिले आफ्नो घर भएको ठाउँमा आउने गरेको उनले बताए।
उनका अनुसार १० गते बिहान बाढी आउँदा उनी सहित श्रीमती र छोरा घरमै थिए।
बेत्रावतीमा बाढी आइसकेको थाहा पाएपछि तत्काल घरबाट माथिल्लो क्षेत्रमा भागेर ज्यान जोगाउन सके पनि जीवनभरको कमाइ र घर सबै बाढीले सोहोरेर लगेको उनले बताए।
‘बाढी आएको थाहा पाएर भाग्दै गर्दा छोराले मोटरसाइकल निकाल्न खोजिरहेको थियो, मोटरसाइकल निकाल्न थालेको भए हामीलाई पनि बाढीले लैजाने रहेछ,’ उनले भने।
त्यो दिनको बाढी यति कहालीलाग्दो थियो कि अहिले आँखा चिम्म गर्दा त्यही दिनको दृश्य नाचिरहने उनले बताए।
‘कस्तो चलायमान बजार थियो। एक छिनमा बगर बन्यो, त्यो दिन सम्झिँदा पनि कहाली लाग्छ। नसम्झुँ भन्छु आँखा चिम्लिएको बेला त्यही दृश्य नाचिरहन्छ,’ उनले भने।
बाढीले आफ्नो घर र बजार लगेपछि श्रीमती र छोराहरूलाई उनले काठमाडौं पठाएका छन्।
‘परिवारले यस्तो विपत्ति देख्न सक्दिनँ भनेपछि काठमाडौं पठाएको छु म भने यहीँ होल्डिङ सेन्टरमै बसेको छु,’ रामराज भन्छन्।
बाढीले रसुवासँगै नुवाकोट, धादिङ र चितवनसम्मका एक दर्जन बढी बजार र बस्तीहरू खण्डहर बनेका छन्। तिब्बत सीमाबाट खसेको हिम चट्टान ल्हेन्दे खोलामा मिसिएपछि सुरु भएको बाढी भोटेकोसी, त्रिशूली र नारायणीमा मिसिँदै तलका बजार र बस्तीहरू तहसनहस बनायो।
उक्त बाढीबाट रसुवासँगै नुवाकोटका बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाट बजार बगरमा परिणत भएका छन्।
देवीघाट बजारमा यसअघि निकै चहलपहल हुन्थ्यो। साढे दुई साता यता भने खण्डहर बनेको छ। चार पाँच तलाका घरहरूले भरिएको देवीघाट अहिले पुरै बगर बनेको छ। अधिकांश घरहरू कहाँ थिए भन्ने समेत अनुमान गर्न सकिँदैन।
बाढीपछिको लेदो र दलदलको बीचमा देखिने दुई चार वटा घरहरू पनि खण्डहर बनेका छन्। घरहरूले भरिएको बजारमा बाढीले बालुवा र लेदो थुपारेर बगर बनाएको छ। बाढीले सोहोरेर ल्याएको गेग्रान र बडेमानका रुखहरू घरभित्र र छतहरूमा तेर्सिएका छन्।
बाढीले कतिपय घरहरू तीन चार तलासम्म पुरिदिएको छ भने कतिपयका घरहरू जगैदेखि उखेलेर बगाइदिएको छ। बाढीले घर बास बगाएर विस्थापित बनेकाहरू आँसु झार्दै आफ्नो घर र थातथलो बगरमा खोजिरहेका भेटिन्छन्।
देवीघाटकै मञ्जु चित्रकार बाढी आउँदा विद्यालय पुगिसकेकी थिइन्। श्री सहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यमिक विद्यालयकी प्रधानाध्यापक रहेकी मञ्जुले देवीघाटमा बाढी पुग्नु भन्दा चार पाँच मिनेट अघि मात्रै सूचना पाइन्।
-ink-1789382816.jpeg)
सूचना पाउँदा बाढी विदुर नगरपालिकामा आइसकेको उनी बताउँछिन्।
देवीघाटको झोलुङ्गे पुल नजिकै रहेको घरमा बुवा आमा र भाइ थिए। उनले तत्काल बुवालाई फोन गरेर माथिबाट ठूलो बाढी आउँदै गरेकोले तुरुन्त घरबाट माथि आउन भनिन्।
घर नजिकै रहे पनि उनी विद्यालय छोडेर बुवा आमालाई लिन जान सक्ने अवस्थामा थिइनन्। एकातर्फ देवीघाटमा बाढी आई पुग्न केही मिनेट मात्र बाँकी थियो भने अर्कोतर्फ विद्यालयका ८ सय विद्यार्थीलाई जोगाउने दायित्व पनि उनकै थियो।
‘मेरो घर नदीको किनारमै थियो। घरमा बुवा आमा र भाइ हुनुहुन्थ्यो। मैले बाढीको सूचना पाउने बित्तिकै बुवा आमा र भाइलाई फोन गरिहालेँ। विदुर नगरपालिकामा बाढी आई सकेको र त्यहाँ आउनु भनेको हाम्रो घरमा पनि आउँछ तपाईँहरू छिटो माथि उकालो लाग्नुस् भनेपछि विद्यार्थीहरूलाई जोगाउन तिर लागेँ,’ मञ्जु भन्छिन्।
बाढीबाट परिवारका सदस्य र विद्यार्थीहरू सबै जोगिए पनि त्रिशूली नदीको किनारमै रहेको साढे चार तलाको उनको घर भने बाढीमा जोगिन सकेन।
‘बुवा आमा घरबाट निस्किएको केही समयमै गोली जस्तो गरी आएको बाढीले घरको जगबाटै उखेलेर बगाइदियो, हाम्रो घर नजिकै चार सय वर्ष पुरानो ठूलो रानी चौतारा थियो। त्यो चौतारा पनि लग्यो। बाढीको छाल यति माथिसम्म पुगेको थियो की चौताराको रुख नाघेर लेदो र पानी बगिरहेको देखिन्थ्यो,’ मञ्जु भन्छिन्।
मञ्जुका बुबा विद्युत् प्राधिकरणका सेवा निवृत्त जागिरे थिए। आमाले किराना पसल चलाएकी थिइन्। बुवाले जागिरबाट र आमाले पसलबाट कमाएको पैसाले साढे चार तलाको घर बनाएका थिए।
तल्लो दुई वटा तलामा होटेल चलाएका थिए भने माथिल्लो दुई वटा तलामा उनीहरू बस्थे। तर अहिले घरको कुनै नामनिसान समेत देखिँदैन।
बिहान पौने १० बजेतिर देवीघाटमा आइपुगेको बाढीको ताण्डव साँझसम्म नै उस्तै रहेको मञ्जु बताउँछिन्।
‘त्यो दिन तल हेर्ने आँट नै कसैको भएन। भोलिपल्ट बाढीको सतह घटेपछि आएर हेर्दा घरहरू बगेर बजार सबै बगर बनेको थियो। बगरमा मानिस र पशु चौपायाका शवहरू यत्रतत्र थिए। त्यतिखेरको दृश्य यस्तो थियो भनेर बयान गर्न नै सकिन्नं,’ मञ्जु भन्छिन्।
बाढीले देवीघाट नै बगाएपछि मञ्जुले बुवा आमालाई काठमाडौं पठाएकी छन्। आफू भने आफन्तको घरमा आश्रय लिएर विद्यालय जाने गरेकी छन्।
उनले पढाउने विद्यालय नदी र बजार भन्दा केही माथि नै भएकोले बाढीबाट सुरक्षित नै रहेको छ। तर, अधिकांश विद्यार्थी र शिक्षक कर्मचारी घरबारविहीन भएपछि पठनपाठनलाई नियमित कसरी गराउने भन्ने चिन्ता छ।
देवीघाट बजार पुरानो व्यापारिक केन्द्र सँगै धार्मिक र पर्यटकीय केन्द्रका रूपमा स्थापित थियो। तत्कालीन राजा पृथ्वीनारायण शाहले बाइसी चौबिसी राज्य एकीकरण गरेपछि केही समय यहीँबाट शासन सञ्चालन गरेका थिए।
पृथ्वीनारायण शाहको निधन भएपछि देवीघाटमै अन्त्येष्टि गरिएकोले यो क्षेत्र ऐतिहासिक मानिन्थ्यो। बाढी आउनु भन्दा पहिले यहाँ दैनिक २ हजार हाराहारी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दथे।
स्थानीयका घर कुनै पनि सग्ला छैनन्। बाढीले नबगाएका र नपुरिएका घरहरू पनि कुनै सग्ला छैनन्। बाढीसँगै आएको हिलो र बालुवाले घरभित्र भरिएको छ। बाढीले देवीघाट बजार नै तहसनहस बनाएको छ।
बाढीबाट २५ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना र १४ मेगावाटको त्रिशूली देवीघाट जलविद्युत आयोजना पनि क्षतिग्रस्त भएको छ।
त्यस्तै अन्य थुप्रै धार्मिक तथा ऐतिहासिक सम्पदाहरू थिए। यी सबै संरचना बाढीले क्षतविक्षत पारेको छ। देवीघाटमै रहेको वृद्धाश्रम भवन, रसुवा–गल्छी जोड्ने सडक र तीन वटा पुल समेत बाढीले बगाएको छ।
तादी खोलामा पक्की पुल बगेपछि नेपाली सेनाले ६० मिटर लामो अस्थायी फलामे पुल जडान गरेर अहिले भने सञ्चालनमा ल्याइसकेको छ।
अझै पनि बाढीले कति भौतिक संरचनामा क्षति पुगेको छ भन्ने तथ्याङ्क सङ्कलन भइरहेकोले यत्ति नै सङ्ख्या भन्ने यकिन भई नसके पनि त्रिशूली वारिपारि गरी पाँच सय हाराहारी घर बगाएर बगरमा परिणत भएको छ।
बाढीबाट विस्थापित बनेका देवीघाट क्षेत्रका बासिन्दालाई जिल्ला आयुर्वेद अस्पताल र चन्द्रज्योति माध्यमिक विद्यालयमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ।
थप तस्बिरहरूः
-ink-1789382816.jpeg)
-ink-1789382816.jpeg)
-ink-1789382816.jpeg)
-ink-1789382815.jpeg)
-ink-1789382815.jpeg)
-ink-1789382815.jpeg)
-ink-1789382815.jpeg)
-ink-1789382815.jpeg)
-ink-1789382815.jpeg)
-ink-1789382815.jpeg)
-ink-1789382814.jpeg)
-ink-1789382814.jpeg)