थाइल्यान्डको गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोले दुई जना भारतीय नागरिक र एक जना म्यानमारका नागरिकलाई तीन किलो गाँजासहित पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा म्यानमारकी २९ वर्षीया जिनजिन फ्यो, भारतका ३० वर्षीय बर्खतुल्लाह र २५ वर्षीय युसुफ खान छन्।
हवाइमार्ग हुँदै नेपाल आउने यात्रुहरूको प्रोफाइलिङ गर्नेक्रममा क्याथे प्यासिफिक एयरलाइन्समार्फत भियतनामबाट हङकङ हुँदै काठमाडौं आएकी फ्योलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनले भियतनामबाट तीन केजी गाँजा लुकाएको सुटकेश बोकेर ल्याएकी थिइन्।
उनलाई आइतबार नियन्त्रणमा लिएपछि सुटकेश लिन आएका दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
भारतमा उक्त गाँजा एक करोड २० लाख भारतीय रुपैयाँमा बेच्ने तयारी रहेको खुलेको छ।
प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।