तीज मनाउन माइत जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी गुल्मीकी कल्पना पुनको शव फेला परेको छ।
गुल्मीको मुसिकोट नगरपालिका-४ दजाकोटकी कल्पना आइतबार माइत जाने क्रममा निस्ती खोलामा बगेर बेपत्ता भएकी थिइन्।
आइतबार दुई छोराछोरी सहित इस्मा गाउँपालिका-४ दोहोलीमा रहेको माइत जाने क्रममा हुलको केही तल निस्ती खोला तर्दै गर्दा उनी बेपत्ता भएकी थिइन्।
उनी बेपत्ता भएपछि आइतबार दिनभर र सोमबार बिहानदेखि निस्ती खोलामा खोजी गर्दै जाँदा उनी खोला तर्दै गरेको घाटको एक सय मिटर तल खोलाको बीचमा शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार खोजी गर्दै जाँदा खोलाको बीचमा मानिसको हात जस्तै देखिएपछि नजिक गएर हेर्दा कल्पनाको शव भेटिएको हो।
छोरा र छोरीलाई खोला तारेपछि झोला तार्ने क्रममा कल्पनालाई खोलाले बगाएको थियो।
आमालाई खोलाले बगाएको देखेपछि खोला तरिसकेका छोराछोरीले हार गुहार गरेका थिए।