प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरी सिंहदरबारबाट बाहिरिँदै गर्दा पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ १० वटा मुद्दामा फरार प्रतिवादी रहेको खुलेको छ।
बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग सोमबार प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरेका हुन्। छलफलमा किस्पाङका अध्यक्ष तामाङ समेत उपस्थित थिए।
पक्राउ पुर्जी रहेको खुलेपछि प्रहरी वृत्त दरबारमार्गको टोलीले उनलाई पक्राउ गरेको थियो। उनी विरूद्धको रेकर्ड हेरेपछि १० वटा मुद्दामा फरार कायम रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए।
‘उहाँविरूद्ध १० वटा मुद्दा रही फरार रहेको देखियो,’ उनले भने।
९ वटा बैंकिङ कसुरको मुद्दा र एउटा ठगीको कसुरमा जाहरी रहेको उनले बताए।
सुनमाया घर्तीले तामाङविरूद्ध ३ करोड ४ लाख रुपैयाँ बिगो कायम गरी जाहेरी दिएकी थिइन्। उक्त मुद्दाको अनुसन्धान सकेर प्रहरीले २०८२ फागुन ५ गते जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो।
त्यस्तै, हेराकाजी बाडेले एक करोड ३ लाख ३० हजार रुपैयाँको बिगो कायम गरी जाहेरी दिएकोमा मुद्दा अनुसन्धान गरी प्रहरीले २०८२ मंसिर १७ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान मिसिल बुझाएको थियो।
एक बहादुर बगालेले ४८ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको भन्दै जाहेरी दिएकोमा अनुसन्धान प्रतिवेदन २०८० पुस ८ गते सरकारी वकिलको कार्यालयमा पेस भएको प्रहरीको रेकर्डमा देखिन्छ।
विजयसिंह लामाले ९५ लाख रुपैयाँको बैंकिङ कसुर गरेको भन्दै दिएको जाहेरीको अनुसन्धान प्रतिवेदन २०८० मंसिर ९ गते सरकारी वकिलको कार्यालयमा पेस भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, दुई रोड ५६ लाख रुपैयाँको ठगी मुद्दा पनि अनुसन्धान भएर २०८१ भदौ ११ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस भएको थियो।
भक्तपुरमा दुई लाख, प्रहरी वृत्त जनसेवामा ७५ लाख, दरबारमार्गमा ५ लाख २५ हजार, लैनचौरमा १९ लाख ८० हजार रुपैयाँ बिगो भएको मुद्दामा फरार रहेको देखिन्छ। महाराजगन्जमा पनि उनीविरूद्ध मुद्दा भए पनि जेनजी आन्दोलनमा मिसिल जलेकाले विवरण नभेटिएको प्रहरीले जनाएको छ।
