अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको पार्टी (आफ्टर-पार्टी) लाई रूसी व्यापारीले प्रायोजन गरेको खुल्न आएको छ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट सम्बन्ध रहेको दाबी गरिएका एक रूसी व्यवसायीले बाहामासमा भएको उक्त विवाहको खुसीयालीमा भव्य पार्टीको खर्च व्यहोरेपछि अमेरिकासहित अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ बहस र प्रश्नहरू उठेका छन्।
ट्रम्प जुनियर र उनकी पत्नी बेटिना एन्डरसनले सोमबार इन्स्टाग्राममार्फत उनीहरूले निजी रूपमा विवाह गरेको सार्वजनिक गर्दै आफ्ना 'प्रिय मित्र उमर (क्रेम्लेभ)' लाई धन्यवाद दिएका छन्। उनीहरूले लगातार दुई रातसम्म भव्य समारोह आयोजना गरिदिएको भन्दै क्रेम्लेभप्रति कृतज्ञता व्यक्त गरेका छन्।
अमेरिकी सञ्चारमाध्यममा आएका रिपोर्टहरूलाई पुष्टि गर्दै उनीहरूले लेखेका छन्, 'यो एक मित्रबाट प्राप्त असाधारण रूपरेखाको विवाहको उपहार थियो, जसका लागि हामी सधैं आभारी छौं।'
को हुन् उमर क्रेम्लेभ?
अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबिए) का प्रमुख रहेका उमर क्रेम्लेभ रूसी राष्ट्रपति पुटिनका निकै विश्वासपात्र मानिन्छन्।
द वासिङ्टन पोस्टका अनुसार क्रेम्लेभले रूसी राष्ट्रपतिलाई हिरा जडित बक्सिङ पन्जा प्रदान गरेका थिए। त्यसको बदलामा पुटिनले उनलाई 'अर्डर अफ मेरिट टु द फादरल्याण्ड' सम्मान प्रदान गरेका थिए।
प्रो पब्लिकाको रिपोर्टअनुसार ट्रम्प जुनियर र क्रेम्लेभबीच लामो समयदेखिको पुरानो चिनजान भने छैन। यस्तै डोनाल्ड ट्रम्पका अर्का छोरा एरिक ट्रम्पका प्रवक्ताले पनि एरिकले क्रेम्लेभलाई नचिन्ने दाबी गरेका छन्। रिपोर्टमा क्रेम्लेभ रूसी राष्ट्रवादी बाइकर समूह 'नाइट वुल्भ्स' का सदस्यसमेत रहिसकेको उल्लेख छ।
अमेरिकी राजनीतिमा खैलाबैला
घटना सार्वजनिक हुनासाथ अमेरिकाका राष्ट्रिय सुरक्षा विज्ञहरू र विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरूले ट्रम्प परिवार र रूसी व्यापारीबीचको सम्बन्धलाई लिएर कडा प्रश्न उठाएका छन्।
अमेरिकी हाउस ओभरसाइट कमिटीका शीर्ष डेमोक्रेटिक नेता रोबर्ट गार्सियाले सामाजिक सञ्जाल 'एक्स' मार्फत लेखेका छन्, 'उमर क्रेम्लेभले राष्ट्रपतिका छोरामाथि लाखौं डलर खर्च गरेका छन्। त्यसबापत उनले के पाए? हामीलाई जवाफ चाहिन्छ।'
ट्रम्प दम्पत्तीको प्रस्टीकरण
आलोचना बढेपछि डोनाल्ड ट्रम्प जुनियर र बेटिनाले इन्स्टाग्राममा संयुक्त प्रस्टीकरण दिँदै व्यक्तिगत खुसीलाई राजनीतिक रंग दिन खोजिएको बताएका छन्।
नाविकको जस्तो टोपी लगाएका नर्तकहरूसहितका विवाहका तस्बिरहरू पोस्ट गर्दै उनीहरूले लेखेका छन्, 'कसैको पहिचान वा उत्पत्तिको आधारमा मात्रै यस्तो व्यक्तिगत र खुसीको पललाई राजनीतिक वा षड्यन्त्रमूलक रूपमा प्रस्तुत गरिनु दुर्भाग्यपूर्ण हो।'
उनीहरूले मित्रताका लागि राजनीतिक उद्देश्य नचाहिने र उदारताको पछाडि सधैं कुनै एजेन्डा नहुने जिकिर गरेका छन्।
'कहिलेकाहीँ विवाहको उपहार भनेको केवल विवाहको उपहार मात्रै हुन्छ,' उनीहरूले भनेका छन्, 'तथ्यभन्दा बाहिर गएर कथा बनाउन खोज्नेहरूका लागि: यहाँ कुनै षड्यन्त्र छैन, कुनै रहस्य छैन।'
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)