धनुषामा घरै अगाडि खेलिरहेको अवस्थामा अपहरणमा परेका १५ महिने बालकको ११ दिनपछि उद्धार भएको छ।
विदेह नगरपालिका-६, तीनकोरियाबाट घरै अगाडि खेलिरहेको अवस्थामा अपहरणमा परेका १५ महिनाका बालक सिधान्त महतोको ११ दिनपछि सकुशल उद्धार भएको हो।
बालकलाई सोमबार दिउँसो साढे ३ बजे घरबाट करिब ३ सय मिटर टाढाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए।
उनका अनुसार भदौ १८ गते दिउँसो साढे ४ बजेतिर कमलेश महतोका १५ महिनाका छोरा सिधान्त घरको आँगनमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता भएका थिए।
बेपत्ता भएलगत्तै प्रहरी चौकी गिद्धाबाट टोली खटिएको थियो। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रूपेश खड्काको कमाण्डमा तालिमप्राप्त कुकुरसहित ६० जना प्रहरी टोली परिचालन गरी सूक्ष्म खोजतलास सुरू गरिएको डिएसपी खनालले बताए।
डिएसपी खनाल र मधेस प्रदेश प्रहरी कार्यालयको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूह (पिआइआइटी) का प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ्गको कमाण्डमा संयुक्त अनुसन्धान टोलीले खोजतलास तीव्र पारेको उनी बताउँछन्।
बालकको उद्धारपछि एक जना महिलालाई नियन्त्रणमा लिइएको छ। धनुषाकै कमला नगरपालिका-९, हथलेट्वा बस्ने ४१ वर्षीया पुनिता देवी पासवान पक्राउ परेकी छन्।
'अनुसन्धानका क्रममा पुनिता देवीले बालकको अपहरण गरी नेपाल र भारतका विभिन्न स्थानमा लगातार ठाउँ परिवर्तन गर्दै लुकाएर राखेको खुलेको छ,' उनले भने, 'प्रहरीले सबै सीमा नाकाहरूमा २४ सै घण्टा पहरा दिनुका साथै प्राविधिक अनुसन्धानमार्फत घेराबन्दी बढाएपछि बालकलाई उनकै घरबाट करिब ३०० मिटर टाढा सडकछेउमा छाडेर भागेकी थिइन्।'
सडकछेउमा छाडिएका बालकको तत्काल उद्धार गरी स्वास्थ्य परीक्षण गराइएको र स्वास्थ्य अवस्था सामान्य रहेकाले अभिभावकको जिम्मा लगाइसकिएको डिएसपी खनालले जानकारी दिए।
बालकलाई छाडेर भारततर्फ भाग्दै गरेकी पासवानलाई सोही दिन दिउँसो ३:४५ बजे विदेह नगरपालिका-१, महिनाथपुरस्थित नेपाल-भारत सीमा (दशगजा क्षेत्र) बाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकी पासवानमाथि अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।