लहान नगरपालिकाले शौचालय निर्माण, नियमित प्रयोग र सरसफाइ सम्बन्धी व्यवहार परिवर्तनलाई प्राथमिकतामा राख्दै नगरका लहानका समुदाय, विद्यालय र हाटबजारमा ‘शान स्टेशन’ सञ्चालन गर्ने तयारी गरेको छ।
‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चालन गरिने ‘शान स्टेशन’ मार्फत समुदाय तथा विद्यालयमा पुगेर शौचालयको महत्व, यसको नियमित प्रयोग, शौचालयको सरसफाइ, साबुन–पानीको प्रयोग तथा व्यक्तिगत स्वच्छताबारे जनचेतना फैलाउने नगरपालिकाको योजना छ।
नगरपालिकाका अनुसार स्वच्छता अभियानलाई जनचेतनामूलक कार्यक्रममै सीमित नराखी नागरिकको दैनिक व्यवहारसँग जोड्ने उद्देश्यले ‘शान स्टेशन’को अवधारणा अघि सारिएको हो।
विशेषगरी प्रत्येक घरमा शौचालय निर्माण गर्न प्रोत्साहित गर्ने, निर्माण भएका शौचालयको नियमित प्रयोग सुनिश्चित गर्ने र प्रयोगपछि त्यसलाई सफा राख्ने बानी विकास गराउने अभियानको लक्ष्य छ।
लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले ‘शान स्टेशन’को प्रारम्भिक परीक्षण गरिएको बताए। परीक्षणपछि स्थानीय समुदाय, विद्यालय तथा हाटबजारमा यसलाई विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
'शौचालय निर्माण गर्नु मात्रै पर्याप्त हुँदैन। यसको नियमित प्रयोग र सरसफाइ पनि उत्तिकै महत्वपूर्ण छ। समुदायको व्यवहारमै परिवर्तन ल्याउने उद्देश्यले ‘शान स्टेशन’लाई अभियानसँग जोडिएको हो,' चौधरीले भने।
स्वच्छता अभियानलाई थप प्रभावकारी बनाउन नगरपालिकाले युवाहरूलाई समेत अभियानमा परिचालन गरेको छ।
‘युथ च्याम्पियन’हरूलाई ‘शान स्टेशन’ सञ्चालन तथा स्वच्छता अभियानका विषयमा अभिमुखीकरण तालिम दिइएको नगरपालिकाले जनाएको छ।
युथ च्याम्पियनकै सहभागितामा ‘शान स्टेशन’को पाइलट प्रदर्शनसमेत गरिएको छ।