काठमाडौंका विभिन्न ठाउँ र समयमा चोरी भएका ५० वटा दुई पांग्रे सवारीसाधनलाई ट्राफिक प्रहरीले फेला पारी धनीलाई फिर्ता गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित एक कार्यक्रमबीच धनीलाई ५० वटा सवारीसाधन फिर्ता गरेको हो।
कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले २२ वटा स्कुटर र २८ वटा बाइक फेला पारी फिर्ता गरेको हो।
फिर्ता गरेपछि उनले सवारी धनीहरूलाई जिपिएस जडान गर्दा चोर समेत पक्राउ परेकोबारे जानकारी गराएका थिए।
उनका अनुसार एक जनाको मोटरसाइकलमा क्षेत्रपाटीबाट चोरी भएको थियो। चोरी भएको मोटरसाइकलमा जिपिएस जडान भएकाले बुढानिलकण्ठ क्षेत्रमा फेला परेको उनले बताए।
‘जिपिएस जडान गरेकाले मोटरसाइकल हामीले १२ घण्टाभित्रै फेला पार्न सक्यौं। चोर समेत पक्राउ परेका छन्,’ उनले भने।
ट्राफिक प्रहरीले सवारीसाधन चोरी हुनबाट जोगिनका लागि सवारी धनी समेत चनाखो हुनुपर्ने बताएको छ।
कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले पनि सवारीसाधनमा सकेसम्म अतिरिक्त भौतिक लकहरूको प्रयोग गर्न अनुरोध गरेका छन्।
साथै, जिपिएस जस्ता प्रविधि पनि जडान गर्न सकिने सुझाव दिए।
‘आफ्नो सम्पतिको सुरक्षाको पहिलो घेरा स्वयम् तपाईं आफै भएकाले सवारीसाधन चोरी हुनबाट बचाउन टार्गेट हार्डेनिङ गर्ने हो। यसको लागि सवारी साधनमा अतिरिक्त भौतिक लकहरू र डिजिटल सुरक्षा प्रविधिहरूको प्रयोग गर्न सकिन्छ। यसले तपाईको सम्पतिलाई भौतिक र प्राविधिक रूपमा बलियो बनाउँछ। चोरले पनि सहजै चोरेर लैजान सक्दैन,’ उनले भने।
उनले पार्किङ व्यवस्थापनमार्फत पनि चोरीका घटना रोक्न सकिने बताउँदै स्थानीय तहसँग कुराकानी भइरहेको पनि बताए।
‘सवारीसाधनको सुरक्षाको लागि प्राविधिक निगरानी सहितको सुरक्षित स्मार्ट पार्किङ व्यवस्थापनको पनि उत्तिकै जरूरी पर्दछ। यसको लागि पनि काठमाडौं, ललितपुर महानगरपालिका लगायत उपत्यका स्थित अन्य नगरपालिकाहरूसँग ट्राफिक प्रहरीले समन्वयात्मक रूपमा काम गरिरहेको छ,’ उनले भने।