कोलेस्ट्रोल घटाउने साधारण औषधि स्ट्याटिनले डिमेन्सिया (बिर्सिने रोग) को जोखिम १५ प्रतिशतसम्म घटाउन सक्ने देखिएको छ।
स्ट्याटिन सम्बन्धी अहिलेसम्मकै सबैभन्दा ठूलो अध्ययनले त्यस्तो देखाएको बेलायती पत्रिका द गार्डियनले लेखेको छ।
डेनमार्कका एक लाख ३२ हजारभन्दा बढी मानिसको सन् २००६ देखि २०२१ सम्म निगरानी गर्दा स्ट्याटिन लिन सुरू गरेका व्यक्तिहरूमा डिमेन्सिया हुने सम्भावना १० प्रतिशतले कम देखिएको थियो। जसले यसलाई छिटै सेवन गर्न थाले, उनीहरूको जोखिम १५ प्रतिशतले घट्यो।
यो नतिजा महिला र पुरूष दुवैमा समान थियो।
यो अध्ययनको निष्कर्ष जर्मनीको म्युनिखमा हालै भएको युरोपियन सोसाइटी अफ कार्डियोलोजीको वार्षिक कंग्रेसमा प्रस्तुत गरिएको थियो।
विश्वभर डिमेन्सियाका बिरामीहरूको संख्या सन् २०५० सम्ममा करिब तीन गुणाले बढेर १५ करोड ३० लाख पुग्ने अनुमान छ। डिमेन्सियाका लगभग आधा जसो मामिला रोक्न वा ढिला गराउन सकिन्छ भनेर विज्ञहरू विश्वास गर्छन्।
स्ट्याटिन सहजै उपलब्ध हुने र सस्तो भएकाले डिमेन्सिया घटाउन यसले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
स्ट्याटिन संसारमा सबैभन्दा बढी प्रयोग हुने औषधिमध्ये एक हो। यो औषधिले रगतमा कम–घनत्व भएको लिपोप्रोटिन (एलडिएल) कोलेस्ट्रोलको स्तर घटाउँछ। खराब कोलेस्ट्रोल भनेर चिनिने एलडिएलले धमनीहरूमा 'प्लाक' जम्मा हुन सक्छ र हृदयघात, स्ट्रोक र मुटुरोगको सम्भावना बढाउन सक्छ।
स्ट्याटिनले लामो समयसम्म दिमागलाई बचाउन पनि मद्दत गर्न सक्ने यो अध्ययनले देखाएको छ।
खराब कोलेस्ट्रोलले दिमागमा रक्तसञ्चार गर्ने रक्तनलीहरूलाई कडा वा साँघुरो बनाएर डिमेन्सियाको जोखिम बढाउन सक्छ भन्ने बलियो प्रमाण देखिएका छन्। यसरी मस्तिष्कको रक्तप्रवाहमा अवरोध हुँदा डिमेन्सियाको जोखिम बढ्न सक्छ।
स्ट्याटिनले खराब कोलेस्ट्रोल नियन्त्रणमा राखेर मस्तिष्कको रक्तप्रवाहमा अवरोध आउन नदिने हुनाले डिमेन्सियाको जोखिम कम भएको हुन सक्छ।
ल्यान्सेट डिमेन्सिया आयोगको अघिल्लो अनुसन्धानले बाल्यकालदेखि सुरू भएर जीवनभर जारी रहने १४ वटा परिमार्जन गर्न सकिने जोखिम कारकलाई सम्बोधन गर्नाले डिमेन्सियाका ४५ प्रतिशत घटना रोक्न वा ढिला गराउन सकिन्छ।
यो अध्ययनले स्ट्याटिनको प्रयोग एक्लैले त्यस्तो जोखिम १५ प्रतिशतसम्म घटाउन सक्ने देखाएको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)