रूपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपोका लागि पेट्रोलियम पदार्थ ल्याएका तीन वटा ट्यांकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आयल निगमका लागि ल्याएको पेट्रोलियम पदार्थ पेट्रोल पम्पमा झिक्दै गरेको अवस्थामा तीन वटा ट्यांकर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको टोलीले लु २ ख १५४४, लु १ ख ६५०४ र लु १ ख ६६१९ नम्बरका ट्यांकर नियन्त्रणमा लिएको हो।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) भूपेन्द्रबहादुर खत्रीका अनुसार ट्यांकरहरूको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो।
नेपाल आयल निगमका लागि भारतबाट पेट्रोलियम पदार्थ बोक्दै आएका लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्यांकरलाई सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थित सराफ आयल सेन्टरमा डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित नियन्त्रणमा लिइएको थियो।
लु १ ख ६६१९ नम्बरको ट्यांकरलाई भाग्दै गर्दा नियन्त्रणमा लिइएको डिआइजी खत्रीले जानकारी दिए।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले तीन वटा ट्यांकरसहित एक जना सहचालकलाई पनि नियन्त्रणमा लिएको छ।
भारतबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्यांकरहरू आयल निगमको डिपोमा जानुपर्नेमा सराफ आयल सेन्टरमा पुगेको अवस्थामा प्रहरीले फेला पारेको थियो। ट्यांकर र सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी जनक शाहीले जानकारी दिए।
केही व्यवसायीहरूले भलवारि डिपो र भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर व्यवसायीको मिलेमतोमा पेट्रोलियम पदार्थ चोरी हुने गरेको दाबी गरे।
यसअघि पनि भलवारि डिपोका लागि ल्याइएको पेट्रोलियम पदार्थ चोरी हुने गरेका समाचार सार्वजनिक हुने गरेका थिए।
नियन्त्रणमा लिइएका ट्याङ्करहरू ओमसतिया गाउँपालिका वडा नं. १ कटैयामा सेराज अहमद कुरेशी र निशार अहमद कुरेशीको नाममा रहेको डिएनएस ढुवानी सेवा र रामदेव प्रसाद कशौधन र जयशंकर प्रसाद कशौधनको तिलोत्तमा नगरपालिका वडा नं. १५ मा रहेको त्रिमूर्ति ट्रान्सपोर्टको नाममा रहेको पाइएको छ।