भोटेकोशी-त्रिशूली बाढीले १०२ जना बालबालिकालाई आमाबुबाविहीन बनाएको छ।
राष्ट्रिय बाल अधिकार परिषदले गरेको द्रुत लेखाजोखा (र्यापिड असेसमेन्ट) अनुसार बाढी प्रभावित क्षेत्रका ४९ बालिका र ५३ बालकले आमाबुबा दुवै गुमाएका छन्।
परिषदले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनका ३० वटा होल्डिङ सेन्टरमा भदौ १५ देखि १९ गतेसम्म गरेको स्थलगत अध्ययनका आधारमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो।
अध्ययनको अन्तिम प्रतिवेदन भदौ २२ गते बुझाइएको थियो।
बालबालिकाको अवस्था बुझ्न परिषदका सूचना अधिकारी रामबहादुर चन्दको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरिएको थियो। टोलीमा परिषदसहित सेभ द चिल्ड्रेन, युनिसेफ, सिविन नेपाल, कन्सोर्टियम नेपाल र युथ एलाइन्स फर इन्भायरोमेन्टका प्रतिनिधि सहभागी थिए।
अध्ययन अनुसार ३० वटा होल्डिङ सेन्टरमा १ हजार २ सय ३३ बालबालिका आश्रित छन्। तीमध्ये ६३२ बालिका र ६०१ बालक छन्।
आमाबुबा दुवै गुमाएका १०२ बाहेक ४३९ बालबालिका आमाबुबाबाट बिछोडिएका वा छुट्टिएर बसेका छन्। ६९२ बालबालिका भने अभिभावकसँगै बसिरहेका छन्।
अध्ययन अनुसार होल्डिङ सेन्टरमा रहेका बालबालिकामध्ये २१ जना शारीरिक अपांगता भएका छन्।
'हामीले अध्ययन गर्दासम्म ती बालबालिकाका आमाबुबा दुवै बेपत्ता भएको अवस्था थियो। कतिपयको शव भेटिइसकेको छ,' परिषदका सूचना अधिकारी चन्दले भने, 'यो द्रुत लेखाजोखाबाट आएको प्रारम्भिक विवरण हो। विस्तृत अध्ययन गर्दा तथ्यांक थपघट हुन सक्छ।'
भौगोलिक कठिनाइका कारण सबै प्रभावित क्षेत्रमा पुग्न नसकिएको उनले बताए।
'कतिपय ठाउँमा सडक अवरूद्ध भएकाले जान सक्ने अवस्था छैन। त्यसैले पूर्ण लेखाजोखा गर्न कठिन छ,' उनले भने।
विद्यालयमा ठूलो क्षति, सयौं विद्यार्थी बेपत्ता
बाढीले बालबालिकाको आश्रय मात्र होइन, उनीहरूको विद्यालयसमेत तहसनहस बनाएको छ।
परिषदको अध्ययन अनुसार प्रभावित क्षेत्रमा ३२ वटा विद्यालयमा क्षति पुगेको छ। तीमध्ये १९ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
पूर्ण रूपमा क्षतिग्रस्त विद्यालयमा ९ हजार ४ सय विद्यार्थी भर्ना भएका थिए। तीमध्ये ३ हजार ९ सय २८ विद्यार्थी बाढीबाट प्रत्यक्ष प्रभावित भएको परिषदको तथ्यांक छ।
'४८८ विद्यार्थी अझै हराइरहेका छन्। हालसम्म पाँच जना विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ,' चन्दले भने।
रसुवाको उत्तरगया गाउँपालिकाका विद्यालयमा बाढीको असर विशेष गम्भीर देखिएको छ।
निलकण्ठ माध्यमिक विद्यालयका २०० भन्दा बढी विद्यार्थी र चार जना शिक्षक बेपत्ता रहेको परिषद्को प्रारम्भिक विवरणमा उल्लेख छ।
त्यही गाउँपालिकाको चिप्लेटी आधारभूत विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यहाँ एक विद्यार्थीको मृत्यु भएको र तीन जना बेपत्ता रहेको विवरण छ।
नव विजय माध्यमिक विद्यालयका एक शिक्षक बेपत्ता छन् भने ट्रिनिटी बोर्डिङ स्कुल पूर्ण रूपमा ध्वस्त भएको छ।
टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका ६ जना शिक्षक बेपत्ता छन्। श्री कोमिन श्यामे वाङफेल माध्यमिक विद्यालयका दुई शिक्षकसहित केही विद्यार्थीको अवस्था पनि अज्ञात रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
नुवाकोटमा पनि विद्यालय र विद्यार्थीको क्षति भयावह छ।
रामचन्द्र आधारभूत विद्यालयका १०० भन्दा बढी विद्यार्थी र तीन जना शिक्षक बेपत्ता छन्।
विदुर नगरपालिका–१० स्थित उत्तरगया बोर्डिङ स्कुलका विद्यार्थी सवार बस नै बेपत्ता भएको परिषदको अध्ययनमा उल्लेख छ। उक्त विद्यालयका १०० भन्दा बढी विद्यार्थी र दुई जना शिक्षक सम्पर्कविहीन छन्।
चण्डेश्वरी माध्यमिक विद्यालयका एक शिक्षक र सात विद्यार्थी तथा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका एक शिक्षक र एक कर्मचारी बेपत्ता छन्। सुन्दरादेवी आधारभूत विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
धादिङको गल्छी–६, बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालय, सक्सेस एकेडेमी र राइजिङ भिलेज स्कुलमा पनि लेदो र बालुवाले क्षति पुर्याएको छ।
प्रधानाध्यापकको निर्णयले जोगियो ९०० विद्यार्थीको ज्यान
बाढीको महाविपत्तिबीच नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीको तत्कालको निर्णयले करिब ९०० विद्यार्थीको ज्यान जोगिएको परिषदको अध्ययनमा उल्लेख छ।
बाढी विद्यालय परिसरमा पस्नुअघि नै उनले विद्यार्थीलाई विद्यालय पछाडिको उकालो बाटो हुँदै सुरक्षित स्थानतर्फ पठाएका थिए।
'विद्यार्थीलाई सुरक्षित स्थानमा पठाएको केही मिनेटमै बाढीले विद्यालय भवनमा क्षति पुर्याएको थियो,' दवाडीले भने।
गुम्बामा पुगे विस्थापित बालबालिका
रसुवाको आमाछोदिङमो र गोसाइँकुण्ड गाउँपालिकाका अधिकांश बाढी प्रभावितलाई काठमाडौंका विभिन्न गुम्बामा स्थानान्तरण गरिएको छ।
आमाछोदिङमोका ६७ जना प्रभावित बालबालिकालाई काठमाडौंका गुम्बामा ल्याइएको छ।
तर गाउँमा कति बालबालिका हराए वा कति बालबालिकाले अभिभावक गुमाए भन्ने यकिन तथ्यांक अझै आउन सकेको छैन।
चितवनमा बाढीले बगाएर ल्याएका मृतकको शव पहिचान तथा व्यवस्थापन क्रममा डिजिटल स्क्रिनमा तस्बिर प्रदर्शन गरिएको थियो। अध्ययन टोलीका अनुसार त्यस क्रममा बालबालिकाका शवसमेत देखिएका थिए।
स्वास्थ्य, पोषण र सुरक्षामा पनि जोखिम
बाढीबाट विस्थापित बालबालिका स्वास्थ्य, पोषण, सरसफाइ र मनोसामाजिक समस्याको उच्च जोखिममा छन्।
धादिङको गजुरीस्थित कबुलियती वन कार्यालयमा १३१ जना विस्थापित आश्रय लिएर बसेका छन्। बागेश्वरी क्याम्पसमा रहेका विस्थापितको अवस्था पनि उस्तै छ।
दुवै स्थानमा बालबालिका तथा विस्थापितका लागि छुट्टै शौचालय र नुहाउने स्थानको अभाव छ। व्यक्तिगत सरसफाइका सामग्रीसमेत पर्याप्त नभएको परिषदको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
बाढीबाट अभिभावक गुमाएका, अभिभावकबाट छुट्टिएका र अझै बेपत्ता रहेका बालबालिकाको संख्या भने प्रारम्भिक लेखाजोखाभन्दा थप बढ्न सक्ने परिषदले जनाएको छ।